काठमाडौं । वैज्ञानिकहरूले अण्डा उसिन्ने सही तरिका पत्ता लगाएको दाबी गरेका छन् । तर अनौठो त के छ भने सही तरिकाले अण्डा पकाउन आधा घण्टाको समय लाग्ने देखिएको छ । यसको अर्थ के हो भने कुनैपनि राम्रो अर्थात् परिपूर्ण अण्डालाई उसिन्न व्यस्त जीवनशैली जिउनेहरुलाई गाह्रो हुन्छ ।
जब तपाईंले पकाइसकेको अण्डाको बोक्रा हटाउनुहुन्छ तब भित्रको पहेँलो भाग नरम रहेको होस् भन्ने आशा गर्नुहुन्छ, जसले अण्डाको परिकार गज्जब बन्दछ । तर कहिलेकाहीँ त्यसको साटो अण्डाको पहेँलो भाग सुख्खा तथा बिग्रिएको वा त्यसभन्दा पनि अण्डा पूरै नपाकेको हुनसक्छ ।
कति छन् अण्डा पकाउने तरिका ?
अण्डा पकाउनमा सबैभन्दा खास समस्या यो छ कि अण्डाको पहेँलो भाग र सेतो भाग अलग–अलग तापक्रममा पकाइन्छन् ।
पहेँलो भागलाई पाक्नका लागि ६५ डिग्री सेल्सियस (१४९ फारेनहाइट) तापक्रमको आवश्यकता पर्छ भने सेतो भाग अर्थात् एल्बुमिनलाई यसभन्दा थोरै बढी तापक्रम अर्थात् ८५ डिग्री सेल्सियस (१८५ फारेनहाइट) तापक्रमको आवश्यकता पर्छ ।
त्यसकारण पारम्परिक तरिकाले पकाउँदा अण्डाको पहेँलो भाग र सेतो भागका लागि दुई अलग–अलग तापक्रमहरूको बीचमा सन्तुलन कायम राख्न गाह्रो हुन्छ ।
यदि अण्डालाई १०० डिग्री सेल्सियस (२१२ फारेनहाइट) मा उमालियो भने यसको सेतो भाग राम्ररी पाक्छ र नरम हुन्छ ।
तर त्यस्तो तापक्रममा पहेँलो भाग भने पुरै कडा हुन्छ । यस्तो अण्डा केवल उनीहरूको लागि ठीक लाग्छ जसलाई कडा सेतो भाग मन पर्छ, तर यदि तपाईंलाई पहेँलो भाग नरम चाहिन्छ भने यो तरीका तपाईंको लागि उपयुक्त हुँदैन ।
अण्डा पकाउने अर्को तरीका ‘सू वीडे’ हो, जसमा अण्डालाई ६० देखि ७० डिग्री सेल्सियसको बीचमा हल्का तातो पानीमा एक घण्टासम्म राखिन्छ । यसले पहेँलो भागलाई पकाएर नरम राख्छ, तर सेतो भाग चाहिँ पुरै पाक्दैन र गिलो रहन्छ ।
तर अब चिन्ता गर्नु पर्दैन । किनकि अनुसन्धानकर्ताले अण्डा उसिन्ने एक सही तरीका पत्ता लगाएका छन् । यसरी अण्डा पकाउनाले अण्डाको स्वादलाई राम्रो बनाउने मात्र होइन यो स्वास्थ्यको लागि पनि अधिक फाइदाजनक साबित हुन्छ ।
वैज्ञानिकहरूको अण्डा उसिन्ने सही तरीका के हो ?
इटलीको पोजुओलीस्थित नेशनल रिसर्च काउन्सिलका वैज्ञानिक पेल्लेग्रीनो मुस्तो र उनको टोलीले आफ्नो नयाँ अनुसन्धानमा सबैभन्दा पहिले कम्प्युटरको मद्दतले अण्डा पकाउने प्रक्रियामा कसरी काम हुन्छ भन्ने बुझ्ने प्रयास गरेका छन् ।
उनीहरूले यसका लागि एउटा प्रविधि प्रयोग गरेका छन्, जसलाई कम्प्युटेसनल फ्लुइड डायनेमिक्स (सीएफडी) भनिन्छ ।
सीएफडी एउटा प्रविधि हो जसमा कम्प्युटरको मद्दतले तरल पदार्थ र ग्यासहरूको बहाव कसरी हुन्छ भन्ने पत्ता लगाइन्छ । यो प्रक्रिया केही वैज्ञानिक नियमहरूमा आधारित हुन्छ, जस्तै द्रव्यमान, गति र ऊर्जाको सन्तुलन ।
यस अनुसन्धानमा वैज्ञानिकहरूले अण्डा पकाउने एउटा नयाँ तरिका पत्ता लगाएका छन्, जुन अधिकांश शेफ तथा घरेलु भान्सेहरुका लागि नयाँ हुनसक्छ, तर यसको नतिजा राम्रो हुनसक्छ ।
यस प्रविधिलाई ‘पिरियोडिक कुकिङ’ भनिन्छ । यसमा अण्डालाई पहिले उम्लिरहेको पानी (१०० सेल्सियस/२१२ फारेनहाइट) मा राखिन्छ र त्यसपछि हल्का मनतातो पानी (३० सेल्सियस/८६ फारेनहाइट) मा राखिन्छ ।
राम्रो नतिजा हासिल गर्नका लागि अण्डालाई प्रत्येक दुई मिनेटमा दुबै तापक्रम बीच बदल्नुपर्छ र यो प्रक्रिया कुल ३२ मिनेटसम्म चल्छ । त्यसैले, यो तरिका ती व्यक्तिहरूको लागि सही छैन जसले अण्डालाई उमाल्नका लागि भाँडोमा राखेर अरू कामहरूमा व्यस्त हुनुपर्छ ।
तर यदि तपाईं यो तरिका अपनाउनका लागि तयार हुनुहुन्छ भने, यसको नतिजा गज्जबको हुनेछ ।
जब वैज्ञानिकहरूले यस तरिकालाई परीक्षण गरे, तब उनीहरूले पत्ता लगाए कि यसले अण्डाको स्वाद र बनावटलाई राम्रो बनाउँछ ।
उनीहरूले न्युक्लियर म्याग्नेटिक रेजोनन्स (एनएमआर) र हाई–रिजोल्युुसन मास स्पेक्ट्रोमेट्री (एचआरएमएस) जस्ता उन्नत प्राविधिहरूको प्रयोग गरेर अण्डाको बनावट, स्वाद र रासायनिक संरचनाको जाँच गरे ।
परिणाममा पत्ता लाग्यो कि यस तरिकाले पकाएका अण्डाको पहेँलो भाग ‘सू विडे’ तरिकाले बनाएको अण्डाजस्तो नरम र क्रिमी रहन्छ ।
तर ‘सू विडे’ अण्डाको विपरीत, यसको ऐल्बुमेन गिलो र अर्धपाकेको थिएन, बरु परम्परागत तरिकाले उमालेको अण्डाजस्तो मुलायम र सही बनावटको थियो ।
वैज्ञानिकहरूको विश्वास छ कि यस्तो यसैले भएको हो कि यस तरिकामा ऐल्बुमेनको तापक्रम ३५ सेल्सियस (९५ फरेनहाइट) देखि १०० सेल्सियस (२१२ फरेनहाइट) बीच सर्छ, जबकि पहेँलो भागको तापक्रम स्थिर रूपमा ६७ सेल्सियस (१५३ फारेनहाइट) मा रहन्छ ।
वैज्ञानिकहरुले सबैभन्दा रोचक कुरा के पत्ता लगाए भने पेरियोडिक कुकिङको तरिकाले पकाइएका अण्डाको पहेँलो भागमा अन्य तरिकाले पकाइएका अअण्डाको तुलनामा धेरै पोलिफेनोल्स पाइन्छन् ।
पोलिफेनोल्स सूक्ष्म पोषक तत्व हो, जुन प्रायः बिरुवामा पाइन्छ र स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
यी तत्वहरू एन्टिअक्सिडेन्ट र एण्टी–इन्फ्लेमेटरी गुणहरूले युक्त हुन्छन् ।
वनस्पतीहरुले आफूलाई सूर्यको तीव्र किरणहरू, सुख्खा वा कीटबाट बचाउनका लागि यी तत्व उत्पादन गर्दछन् । यी मानवीय स्वास्थ्यका लागि पनि अत्यन्त फाइदाजनक हुने वैज्ञानिकहरुको भनाइ छ ।
अनुसन्धानबाट के पत्ता लागेको छ भने हाम्रो आहारमा पोलिफेनोल्सको मात्रा बढी भएमा यसले हृदय रोग, विभिन्न प्रकारका क्यान्सर र मस्तिष्कसँग सम्बन्धित रोगहरू (जस्तै अल्जाइमर) को जोखिम घटाउन सक्छ ।
त्यसैले यदि तपाईंले यस्तो गुणकारी पौष्टिक तत्व सहित उसिनेको अण्डा खान चाहनुहुन्छ भने वैज्ञानिक विधिको पिरियोडिक कुकिङ विधि अपनाउन सक्नुहुन्छ ।