काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले हुलाकी सडक निर्माणमा एमाले र पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले हुलाकी सडकको ऐतिहासिक महत्व र वर्तमान अवस्थाबारे प्रकाश पारेका हुन् ।
महासचिव पोखरेलका अनुसार, हुलाकी सडक तराईका सदरमुकामहरूलाई जोड्ने परम्परागत सञ्चार मार्गको रूपमा विकसित भएको थियो । प्रारम्भमा हुलाक सेवाको लागि प्रयोग हुने यो मार्ग पछि गएर कच्ची सडक सञ्जालको रूपमा विकसित भयो र मधेसी जनताको जीवनरेखाको रूपमा स्थापित भयो ।
विकासक्रममा देशका अन्य भागमा पक्की सडकहरू बन्दै गए पनि सघन बसोबास भएको तराई–मधेशमा हुलाकी सडक पक्की हुन सकेको थिएन । तत्कालीन प्रधानमन्त्री माधव नेपालको कार्यकालमा भारत सरकारको सहयोगमा सडक निर्माण गर्ने प्रयास भए पनि त्यो सफल हुन सकेन ।
‘हुलाकी सडक तराईका सदरमुकामहरुलाई आधार बनाएर निर्माण गरिएको सूचना सञ्चारको परम्परागत मार्ग हो । त्यतिबेला हुलाक नै सूचना र सञ्चारको सबैभन्दा प्रभावकारी माध्यम थियो । त्यही परम्परागत हुलाकी मार्गपछि गएर कच्ची सडक सञ्जालका रुपमा विकास भयो । उक्त हुलाकी सडकलाई मधेसी जनताको लाइफलाइन मानिन्थ्यो । विकासको क्रममा धेरैतिर पक्की सडकहरु बने । तर तराई–मधेशमा जनताको सघन बसोबास भएर गुज्रने हुलाकी सडक बन्न सकेन । मधेसी जनताको गुनासो रहने नै भो ।’ महासचिव पोखरेल भने ।
महासचिव पोखरेलले संविधान जारी भएपछिको मधेश आन्दोलन र नाकाबन्दीको सन्दर्भ उल्लेख गर्दै पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक निर्माणले गति लिएको स्मरण गराए ।
‘खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइयो । तर पनि लामो समयसम्म उक्त बन्न सकेन । हुलाकी सडकका नाममा राजनीतिक स्वार्थ आधारित उत्तर दक्षिणका सडक बने । त्यसमा पनि स्थानिय जनताको गुनासो हुने नै भयो । संविधान सभावाट नयाँ संविधान जारी भएपछि मधेसमा त्यसका विरुद्धमा आन्दोलन भयो । नाकाबन्दीको समेत नेपालले सामना गर्नु पर्यो । त्यसकुलाई नेकपा (एमाले) नेतृत्वले गम्भीरता पूर्वक लियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेशको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनु भो । भारत सरकारबाट प्राप्तहुने अनुदानको निरन्तरता रहनेगरी नेपाल सरकारले आफैले बनाउने संकल्प गर्नु भो । भारत सरकारलाई सहमत गराउनु भयो । आज मधेशको लाइफलाइनको रुपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा (एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन् । हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौँ भनिएको मधेश प्रदेशमा आज नेकपा (एमाले) सबैभन्दा ठूलो दल बनेको छ । हुलाकी सडक यति बेला नेपालको सडक सञ्जालको महत्वपूर्ण हिस्सा बनेको छ ।’ महासचिव पोखरेलले भने ।
महासचिव पोखरेलले यस विकास कार्यको परिणामस्वरूप मधेसमा एमालेप्रतिको धारणा सकारात्मक बनेको र हाल प्रदेशमा एमाले सबैभन्दा ठूलो दल बनेको उल्लेख गरेका छन् । हुलाकी सडक अहिले नेपालको सडक सञ्जालको एक महत्वपूर्ण अंग बनेको महासचिव पोखरेलको भनाइ छ ।