काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया किशोरी रिंकुकुमारी सदाय ३० फागुनमा मृत फेला परिन् । दलित समुदायकी रिंकु आफ्नै ‘भुँई घर’ मा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा साँझ करिब ७ बजे उनको शव फेला परेको थियो ।
परिवार, आफन्त तथा स्थानीयमार्फत इलाका प्रहरी कार्यालय लाहानलाई घटनाको जानकारी गराइयो । इलाका प्रहरी कार्यालयको टोली घटनास्थल पुगेर मुचुल्का तयार गरी पोस्टमार्टमका लागि शव उठाएर लग्यो ।
इलाका प्रहरी कार्यालय लहानका प्रमुख तथा डीएसपी विष्णुप्रसाद सोतीका अनुसार प्रहरी घटनास्थल पुग्दा रातिको ९ बजिसकेको थियो । घटनास्थलमा किशोरी रिंकुकी आमा र उनका भाइ थिए भने घरको ढोका खुलै थियो ।
रिंकुको मृत्यु भएको करिब एक साता पुग्न लाग्दा घटना रहस्यमय र विवादित बन्न पुगेको छ । उनको मृत्युअघि भएका घटना/परिघटनाले रिंकुको मृत्यु स्वभाविक नरहेको देखाएको छ । रिंकुको मृत्युको पछाडि सामूहिक बलात्कारको आरोपदेखि घटना दबाउन पञ्चायती मिलापत्र गरेकोसम्म आरोप लागेको छ ।
आमा र एक भाइका साथ बस्दै आएकी रिंकु २६ माघको राति करिब ९ बजेतिर शौच गर्न भनेर बाहिर निस्केकी थिइन् । तर ६ घण्टासम्म घर फर्किनन् । उनी २७ माघ बिहानीपख ३ बजेतिर रोइरहेको अवस्थामा घरबाहिर फेला परिन् ।
६ घण्टा बेपत्ता भएर घर फर्केपछि उनले परिवारलाई आफूमाथि सामूहिक बलात्कार भएको बताइन् । परिवारका सदस्यका अनुसार रिंकुले आफूलाई स्थानीय रुपेश मण्डल, टिंकु मण्डल र चन्दन साहेलाले बलात्कार गरेको दाबी गरेकी थिइन् । ‘शौच गर्न गएका बेला तीन जनाले उठाएर बाँसघारीमा लगेर सामुहिक बलात्कार गरे,’ रिंकले त्यसबेला भनेको उनका परिवारका सदस्य बताउँछन् ।
आफूमाथि सामूहिक बलात्कार भएको बयान दिएकी उनै रिंकु त्यसको चार दिनपछि ३० फागुन साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिइन् । रिंकुको शव भेटिएपछि घटनाले नयाँ मोड लिएको छ । सामूहिक बलात्कार भएको विषय रिंकुको मृत्युपछि परिवारले समेत उठाउँदै आएको नवराजपुर–१ का वडाध्यक्ष नवीनकुमार यादव बताउँछन् ।
‘त्यतिबेला के–के भयो मलाई जानकारी भएन । तर रिंकुको मृत्यु भएपछि उनीमाथि सामूहिक बलात्कार भएको परिवारले बताउँदै आएका छन्,’ वडाध्यक्ष यादवले अनलाइनखबरसँग भने ।
डेढ लाखमा घटना सामसुम पार्न लागेको आरोप
परिवारले रिंकुमाथि बलात्कारको आरोप लगाए पनि प्रहरीमा भने आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ
मृत्युअघि रिंकुले आफूमाथि सामूहिक बलात्कार भएको बताएपछि घटना सामसुम पार्न गाउँमै पञ्चायती सभा समेत बसेको खुलेको छ । न्यायका लागि भन्दै २९ माघमा गाउँ-समाजमा रिंकुको परिवारले छलफलका लागि डाकेका थिए ।
यो विषयमा मिलापत्र गर्न भन्दै हाल फरार रहेका रुपेश मण्डललाई १ लाख ५० हजार जरिवाना गर्ने निर्णय भएको थियो । तर यो निर्णयलाई पीडित परिवारले स्वीकार गरेनन् । त्यतिबेला वादविवाद समेत भएको थियो । अर्कोतर्फ रुपेशका बुवा देवानाथ मण्डलले समेत १ लाख ५० हजार रुपैयाँ तिराउने निर्णयमा सहमति जनाएनन् ।
३० फागुनमा फेरि पञ्चायती सभा डाकिएको थियो । त्यतिबेला नै रिंकुले रुपेशका साथै अन्य दुई जनाले आफूमाथि बलात्कार गरेको भन्दै बयान दिएको एक स्थानीय बताउँछन् । अन्य व्यक्तिको पनि संलग्नता रहेको बताउँदा पनि आफ्नो छोरालाई मात्रै जरिवाना तिराउने निर्णयमा सहमति नरहेको देवानन्दको भनाइ थियो । त्यसपछि झडपको स्थिति समेत आएको थियो । पञ्चायती बसेर घटना सामसुम पार्न खोजिएको केही समयमै रिंकु आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
‘रिंकुले आत्महत्या गरिन् भन्ने खबर आयो । अनि मैले नै प्रहरी चौकी बसबरियालाई खबर गरेँ । घटनास्थलमा पुगेपछि मात्रै बलात्कार र पञ्चायती बसेको कुरा परिवारबाट जानकारी पाएँ,’ वडाध्यक्ष यादव भन्छन् ।
प्रहरीले भने सामूहिक बलात्कारको घटनामा पञ्चायती सभा बसेर मिलापत्र गर्न खोजेकोबारे आफूहरुलाई जानकारी नभएको दाबी गरेको छ ।
लहानका प्रमुख तथा डीएसपी सोती भन्छन्, ‘यो कोणबाट अहिले हामीले पनि अनुसन्धान गरिरहेका छौं । तर पीडित परिवारले अहिले हामीलाई यस विषयमा केही बताउनुभएको छैन ।’
आरोप बलात्कार, मुद्दा दुरुत्साहन
परिवारले रिंकुमाथि बलात्कारको आरोप लगाए पनि प्रहरीमा भने आत्महत्या दुरुत्साहनको जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्र पासवानले १९ वर्षीय स्थानीय रुपेश मण्डलविरुद्ध रिंकुका काका राम सदायले आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी दिएको बताए ।
‘बाहिर सामूहिक बलात्कार भन्ने हल्ला चले पनि हामीकहाँ दुरुत्साहनको जाहेरी आएको छ । सोही अनुसार अनुसन्धान अघि बढाइरहेका छौं,’ पासवानले अनलाइखबरसँग भने, ‘अनुसन्धानका क्रममा बलात्कार खुलेमा त्यसमा पनि अनुसन्धान अघि बढाउँछौं ।’
प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिका रिंकुले आत्महत्या गरेको र त्यसको कारण रुपेश रहेको आरोप लगाइएको उनको भनाइ छ । ‘रिंकु र रितेशको पहिलेदेखि नै प्रेम रहेको तर रुपेशको घरपरिवारले नस्वीकार्ने कुरा गरेपछि आत्महत्या गरेको’ काका राम सदायले दिएको जोहरीमा उल्लेख छ ।
यो घटनामा अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ गरेको छैन । आरोपित रुपेश फरार छन् भने अन्यको हकमा जाहेरी नै नआएको भन्दै प्रहरीले उनीहरुमाथि अनुसन्धान अघि बढाएको छैन ।
सुरुवाती क्रममा सामूहिक बलात्कार आरोपको दाबी गरेका रिंकुका परिवारका सदस्यहरु समेत अहिले होस्टायल भएको हुनसक्ने बताइएको छ । उनीहरुले अहिले यो विषयमा खुलेर बताउन समेत चाहेका छैनन् ।
यता, पोस्टमार्टमका लागि रिंकुको शव धरान पठाइएको त्यसको रिपोर्ट आउन बाँकी नै छ । उक्त रिपोर्टमा बलात्कार रहेको खुलेमा सोही अनुसार अनुसन्धान अघि बढाउने दाबी प्रहरीको छ ।
मजदुरी गर्न भारत पुगेका रिंकुका बुबा बिजुलिया सदाय अहिले घर फर्केका छन् । छोरीको मृत्युपछि परिवारजन शोकमा डुबेका छन् भने डर-त्रासको कारण घटनाबारे बोल्न छाडेका छन् ।
धरानमा पोस्टमार्टमपछि शव सद्गद्
सुरुवाती क्रममा घटनास्थलको मुचुल्का गरेर प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लाहान पठाएको थियो । तर रिंकुमाथि सामूहिक बलात्कार भएको दाबी परिवारले गरेपछि पोस्टमाटर्मका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले धरानमा पोस्टमाटर्मको काम सकिएपछि शनिबार शव परिवारको जिम्मा लगाइएको बताए । शनिबार नै परिवारले रिंकुको शव सद्गद् गरिसकेका छन् । यद्यपि, उनीहरुले रिंकुमाथि सामूहिक बलात्कार भएको दाबी गर्न भने छाडेका छैनन् ।
अहिले पोस्टमाटर्म रिपोर्ट आउन बाँकी नै रहेकाले बलात्कार भयो/भएन भन्ने यकिन हुन बाँकी नै रहेको मधेश प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी लालमणि आचार्य बताउँछन् । ‘घटना गम्भीर प्रकृतिको देखिएकाले सोही अनुसार अनुसन्धान गर्न भनेका छौं । सामूहिक बलात्कार हो/होइन भन्ने यकिन हुन बाँकी नै छ,’ डीआईजी आचार्यले अनलाइखबरसँग भने ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार बलात्कारपछि आत्महत्या भएको परिवारको दावीपछि संवेदनशीलतालाई ख्याल गरी शवलाई पोस्टमार्टमको लागि विपी कोइराला विज्ञान प्रतिष्ठान धरान पोष्टमार्टमको लागि पठाइएको थियो । शव पोस्टमार्टम भएर आएपछि शनिबार संस्कार गरिएको छ ।