काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
युनिभर्सिटीले कलेजमा ज्यान गुमाएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरिएको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ । ‘यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ’, युनभर्सिटीले भनेको छ ।
युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नवीन अधिकारीसँग भेट गरेका थिए । त्यसक्रममा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ ।
आइतबार अपराह्न २० वर्षीय प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् ।
उनले आफूमाथि सोही कलेजमा अध्ययरत एक विद्यार्थी मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिएकी थिइन् । तर, कलेजले गम्भीरता देखाएको थिएन ।
साँझबाटै विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । तर, युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
कलेजका सुरक्षागार्ड र बाउन्सरहरुले विद्यार्थीलाई कुटपिट गरेको र लखेटेको भिडियोहरु सामाजिक सञ्जालमा भाइरल समेत भएको थियो ।
कलेजमा भएको तनावपछि कम्तिमा १११ जना नेपाली विद्यार्थीहरु सीमा नाका हुँदै स्वदेश फर्किएका छन् । उनीहरुलाई फिर्ता ल्याउन भन्दै युनिभर्सिटीले अभिभावकलाई इमेल समेत लेखेको छ ।