जनकपुरधाम । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले स्थानीय राजनीतिकर्मीले जबरजस्ती करणी जस्ता घटना ढाकछोप गर्ने गरेको आरोप लगाएका छन् ।
शुक्रबार मन्त्रालयमा सिरहामा जबरजस्ती करणीको घटना मिलाउन पञ्चायती बसेपछि मृत अवस्थामा फेला परेकी किशोरीको घटना सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री लेखीले घटनालाई ढाकछोप गर्ने, विषयान्तर गर्ने, दोषीलाई बचाउने गरेको आरोप लगाएका हुन् ।
गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका- १ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनामा आरोपित र पञ्चायती बस्नेहरु छिट्टै पक्राउ पर्ने भन्दै उनले यसका लागि प्रहरी निरीक्षकको नेतृत्वमा टोली पनि गठन भएको जानकारी दिए । मन्त्री लेखीले अनुसन्धान जारी रहेको भन्दै दोषी छिट्टै पक्राउ पर्ने बताए ।
‘दुःखको कुरा के छ भने हाम्रो प्रदेशको जिल्लामा, स्थानीय तहमा जहाँ जहाँ यस्तो प्रकारको घटना घटछ त्यसलाई लुकाउनका निम्ति स्थानीय राजनीतिकर्मीहरु नै लाग्छ’, उनले अगाडि भने, ‘यस प्रकारको घटना लुकाउन, ढाकछोप गर्न, घटनालाई विषयान्तर गर्ने, दोषीलाई सजाय दिलाउनुको सट्टा, पक्राउ गराउनुको सट्टा स्थानीय राजनीतिकर्मी बचाउँन खोज्छ ।’
मन्त्री लेखीले समाजमा हुने कुनै पनि घटनाको सम्बन्धमा जानकारी पाउने पहिलो स्थानीय राजनीतिकर्मीहरु रहेकाले उनिहरुले तत्काले सुरक्षाकर्मी, सञ्चारकर्मी, मानव अधिकारकर्मीलाई जानकारी गराएमा यस्तो खालको अन्यौलता नहुने बताए ।
मन्त्री लेखीले यस्ता घटनामा गरिब, दलित, निमुखा परिबारका किशोरीहरु पर्ने गरेको भन्दै भने, ‘सिरहाको घटनामा पनि हिजो मैले थाहा पाएअनुसार स्थानीयहरु नै पञ्चायती गराउन खोज्ने, पैसाको लेनदेन गराउन खोज्ने, घटनालाई दबाउन खोज्ने, यतिसम्म कि घटना भै हाल्यो भन्दै डेढ लाख रुपैयाँ दिएर चुप्प लाग्न भन्छ, यो कुन तरिका हो ?’
मन्त्री लेखीले जिल्लाका राजनीतिकर्मीहरुलाई यस घटनाको छानविनमा सहयोग गर्न भनेको भन्दै पञ्चायती गराउनेहरुलाई नबँचाउन राजनीतिकर्मीलाई भनेको बताए ।
उक्त पत्रकार सम्मेलनमा मधेस प्रदेशका डिआईजी लालमणी आचार्यले घटना अनुसन्धान भइरहेको बताए । उनले अनुसन्धानको क्रममा आवश्यक सम्पूर्ण प्रक्रिया भइरहेको बताए । किशोरीको शव पोष्टमार्टमका लागि धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा पठाएकोमा अहिलेसम्म त्यसको रिर्पोट नआएको बताए ।
फागुन १ गते मृतकको काका राम सेवक सदायले टिन्कु भन्ने रुपेश मण्डलको विरुद्धमा आत्महत्या दुरुत्साहन शिर्षकमा जाहेरी दर्खास्त दिएकोमा जिल्ला अदालत सिरहाबाट पक्राउ पुर्जी लिई पक्राउ गर्न प्रहरी टोली खटिएको जनाइएको छ ।
यस्तै, जबरजस्ती करणी भएको र सो घटनालाई ढाकछोप गर्न गाउँमै पञ्चायती गरेको विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशन भएपश्चात पुरक जाहेरी दर्खास्त परेको मन्त्री लेखीले बताए ।
मृतकको आमाको तर्फबाट अपहरण गरी आफ्नो नियन्त्रणमा राखि सामुहिक तबरबाट जबरजस्ती करणी गरी हत्या गरेको, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र समेत गर्न खोजेको अन्तर्गतको कसूर शिर्षकमा ८ जनाविरुद्ध बिहीबार पुरक जाहेरी परेको उनले बताए ।