वीरगञ्ज । भारतको ओडिशा राज्यस्थित किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युको विरोधमा वीरगञ्जमा नेपाली विद्यार्थीहरूले मौन जुलुस निकालेका छन् ।
न्यायको माग गर्दै शुक्रवार गरिएको प्रदर्शनमा किट विश्वविद्यालयबाट निष्कासित झन्डै ५० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । उनीहरूलाई वीरगञ्जका विभिन्न निजी शैक्षिक संस्थाका विद्यार्थीहरूले पनि साथ दिएका थिए । विरोध जनाउन विद्यार्थीहरूले हातमा कालो पट्टि बाँधेर मुखमा कालो मास्क पनि लगाएका थिए ।
२० वर्षीय प्रकृति लम्साल फागुन ४ गते किट विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनालाई शङ्कास्पद ठान्दै नेपाली विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध आवाज उठाएपछि उनीहरूलाई दबाब दिने र कलेजबाट निष्कासित गर्ने काम भयो ।
विद्यार्थीहरूमाथि भएको सोही अन्यायको विरोध गर्दै विद्यार्थीहरूले वीरगञ्जमा शान्तिपूर्ण रूपमा प्रदर्शन गरेका हुन् । घण्टाघर चोकबाट सुरु भएको मौन जुलुस माईस्थान, आदर्शनगर, नगरपालिका चोक हुँदै जिल्ला प्रशासन कार्यालय पर्सासम्म पुगेको थियो ।
विद्यार्थीहरूले प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याल र पर्सा प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनको गैर जिम्मेवार रवैया र अन्यायपूर्ण कारबाहीको कडा विरोध जनाउँदै उनीहरूले प्रकृति लम्साललाई मानसिक र शारीरिक यातना दिएको आरोप लागेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइयोस् भन्ने माग गर्दै नेपाली विद्यार्थीहरूका लागि सुरक्षित वातावरण निर्माण गर्न जोड दिए ।
त्यस्तै विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनको गैर जिम्मेवार व्यवहारको विरोध गर्दै भविष्यमा यस्ता घटनाहरू नदोहोरिउन् भनेर कडा कदम चाल्न आग्रह गरे । उनीहरूले किट विश्वविद्यालय फर्किन चाहने नेपाली विद्यार्थीहरूको सुरक्षाको सुनिश्चितता, उनीहरूको शैक्षिक भविष्य सुरक्षित राख्ने प्रतिबद्धता, र एकेडेमीक प्रक्रियामा कुनै पक्षपात नहुने ग्यारेन्टी गरिनुपर्ने माग गरे ।
विद्यार्थीहरूको गम्भीर मागप्रति ऐक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यस विषयलाई सम्बन्धित निकायमा पुर्याइने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीहरूको न्यायको पक्षमा आफूहरू दृढ रहेको बताउँदै, प्रकृति लम्सालको मृत्युसँग सम्बन्धित छानबिन पारदर्शी रूपमा अघि बढाउन नेपाल सरकारको तर्फबाट पहल गरिने आश्वासन दिए ।
घटनाले नेपाली विद्यार्थीहरूको सुरक्षासँगै नेपाल–भारतबिचको शैक्षिक सम्बन्धमा पनि प्रश्न उठाएको छ । विद्यार्थीहरूले न्याय नपाएसम्म आन्दोलनलाई निरन्तरता दिने बताएका छन्, जसले नेपाल सरकारलाई थप कूटनीतिक पहल गर्न बाध्य बनाएको छ ।