वीरगञ्ज । भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा रहस्यमय परिस्थितिमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको न्यायका लागि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शन भारतीय महावाणिज्य दूतावासका लागि चुनौतीको विषय बनेको छ ।
प्रकृति लम्साल र नेपाली विद्यार्थीहरूको न्यायका लागि वीरगञ्जका युवा तथा नागरिक समाजले निरन्तर रूपमा विरोध गर्दै आएका छन् । प्रदर्शनका क्रममा किट विश्वविद्यालय प्रशासनद्वारा नेपाली विद्यार्थीहरूमाथि गरिएको दमन र प्रताडनाको विरोध गर्दै उनीहरूले प्रकृतिको मृत्युको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरिरहेका छन् ।
सूत्रहरूका अनुसार, भारतीय महावाणिज्य दूतावासका अधिकारीहरूले वीरगञ्जका एक निजी शैक्षिक संस्थाका निर्देशकलाई सम्पर्क गरी प्रदर्शनमा विद्यार्थीहरू किन सहभागी भए भन्ने विषयमा चासो व्यक्त गरेका छन् । उनीहरूले शैक्षिक संस्थाका निर्देशकलाई अबदेखि आयोजना हुने विरोध प्रदर्शनहरूमा विद्यार्थी नपठाउन आग्रह समेत गरेको बुझिएको छ ।
नेपालमा प्रकृति लम्सालको घटनाका कारण भारतको छवि धमिलिएको भन्दै प्रदर्शनलाई कमजोर पार्ने प्रयास स्वरूप भारतीय महावाणिज्य दूतावासका अधिकारीहरूले शैक्षिक संस्थाका निर्देशकसँग यस्तो आग्रह गरेको आशङ्का छ ।
यद्यपि विश्लेषकहरूले भारतीय महावाणिज्य दूतावासको यस्तो गतिविधिलाई नेपालका आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको रूपमा व्याख्या गरेका छन् ।
विश्लेषकहरूका अनुसार, भारतले नेपालमा कूटनीतिक रूपमा नराम्रो छवि बनाउन सक्ने घटनाहरूलाई न्यूनतममा ल्याउने प्रयास गर्छ । सोही क्रममा, विरोध प्रदर्शनलाई रोक्ने वा कमजोर बनाउने रणनीति स्वरूप महावाणिज्य दूतावासका प्रतिनिधिहरूले यस्तो गरेको हुनसक्ने सम्भावना छ ।
प्रकृति लम्सालको लागि न्याय माग्दै नेपालमा भइरहेको विरोध प्रदर्शनहरू भारतीय दूतावासका लागि कूटनीतिक रूपमा चुनौतीपूर्ण बन्न पुगेका छन् ।
स्थानीय नागरिक तथा अभियन्ताहरूले भारतीय दूतावासको हस्तक्षेपलाई कडा आलोचना गरेका छन् । एक सामाजिक अभियन्ताले भने, “विद्यार्थीहरू न्यायका लागि आवाज उठाउने अधिकार राख्छन् । यस्तो सामाजिक अभियानलाई दबाउने प्रयास नेपालका आन्तरिक मामिलामा हस्तक्षेपको स्पष्ट सङ्केत हो ।”
नेपाल-भारत सम्बन्धमा नागरिक स्तरका यस्ता आन्दोलनहरूले ठूलो प्रभाव पार्न सक्छन् । नेपालले आफ्नो सार्वभौमिकता सुरक्षित राख्न विदेशी हस्तक्षेप रोक्न प्रभावकारी कूटनीतिक कदम चाल्नुपर्ने विश्लेषकहरूको सुझाव छ । नेपालको सरकार र कूटनीतिक निकायहरूले यस विषयमा स्पष्ट र दृढ धारणा राख्नुपर्ने आवश्यक देखिन्छ ।
यस विषयमा भारतीय महावाणिज्य दूतावासलाई इमेल मार्फत पठाइएको आधिकारिक प्रश्नको कुनै प्रतिक्रिया भने आएको छैन । नेपाली जनता प्रकृति लम्सालका लागि न्याय माग्न प्रतिबद्ध छन्, र कुनै पनि हस्तक्षेपले उनीहरूको आवाज दबाउन सक्ने छैन ।