वीरगन्ज । वीरगन्ज नाकाबाट अनएसेम्बल्ड (तयार नगरिएको) मोटरसाइकलको आयात ह्वात्तै बढेको छ ।
गत आर्थिक बर्षको पहिलो सात महिनाको तुलनामा चालु आर्थिक बर्षको सात महिनामा यस्तो मोटरसाइकलको आयात करीब तीन गुनाले बढेको हो । आयातकर्ताले मोटरसाइकलको पार्टपुर्जा छुट्टाछुट्टै आयात गरेर नेपालमै मोटरसाइकल तयार पारी बिक्री गर्ने क्रम बढेको छ । यसले विगतका वर्ष जस्तो तयारी मोटरसाइकलको आयात भने घट्दो छ ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार, चालु आर्थिक बर्षको साउनदेखि माघसम्मको ७ महिनामा वीरगन्ज नाका हुँदै २ अर्ब ५ करोड रुपैयाँ बराबरको १९ हजार ९ सय ४५ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएका छन् । जसबाट १ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
गत आर्थिक बर्षको यसै अवधिमा वीरगन्ज नाका हुँदै ७६ करोड रुपैयाँ बराबरको ७ हजार ६ सय ३८ थान अनएसेम्बल्ड मोटरसाइकल आयात भएको थियो । जसबाट ६७ करोड राजस्व संकलन भएको थियो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत अमित तिवारीले नेपालमा सर्वाधिक बिक्री हुने पल्सर र टीभीए ब्रान्डका मोटरसाइकल जगदम्बा ग्रुपले आयात गर्ने गरेको बताए । दुवै मोटरसाइकलको एसेम्बल्ड प्लान्ट नेपालमै स्थापना भइसकेकाले आयातकर्ताले तयारीलमोटरसाइकल आयात गर्नुभन्दा पार्टपुर्जा ल्याएर नेपालमै एसेम्बल गर्ने क्रम बढेको उनको भनाइ छ ।
अनएसेम्बल्ड मोटरसाइकल आयात गर्दा तयारी मोटरसाइकलको तुलनामा अन्तःशुल्क कम लाग्ने भएकाले पनि यस्तो मोटरसाइकलको आयात बढेको तिवारी बताउँछन् । ‘सामान्यतया तयारी मोटरसाइकल आयात गर्दा ३० प्रतिशत अन्तःशुल्क लाग्छ,’ उनले भने, ‘तर अनएसेम्बल्ड मोटरसाइकल आयात गर्दा १५ प्रतिशत मात्र अन्त:शुल्क लाग्छ ।’
अन्य शुल्क अर्थात् मूल्य अभिवृद्धि कर १३ र भन्सार शुल्क ३० प्रतिशत नै लाग्छ । यसरी अन्तःशुल्क मात्र आधा लाग्दा मोटरसाइकल निर्माता कम्पनीको धेरै बचत हुने भएकाले उनीहरुले नेपालमै एसेम्बलिङ प्लान्ट जडान गरी मोटरसाइकल तयार पार्न थालेका छन् ।