काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले आफ्नो सुपथ मूल्यको नयाँ आइफोन सार्वजनिक गरेको छ ।
फ्लागशिप आइफोनका नयाँ संस्करण हरेक वर्ष सेप्टेम्बर महिनामा मात्रै सार्वजनिक गर्ने गरेको एप्पलले सुपथ मूल्यको दाबी ग्रिएको आइफोन १६ ई चाहिँ यसपटक फेब्रुअरीमै सार्वजनिक गरेको छ ।
आइफोन १६ई मा ब्याट्री ब्याकअप सबैभन्दा गज्जब रहेको दाबी एप्पलको छ
एप्पलका अनुसार यो फोनमा २६घण्टाको भिडियो प्लेब्याक रहेको छ । अर्थात् एकपटक फोन चार्ज ग्रेपछि दिनभर फोनमा भिडियो चलाएर हेर्न सकिन्छ । कम्पनी आफैंले डिजाइन गरेको चिपसेटका कारण यो फोनको ब्याट्री ब्याकअप अधिक रहेको दाबी गरिएको छ ।
योसँगै अब आइफोन एसईको आधिकारिक रुपमा अन्त्य भएको छ । यसपटक एप्पलले नयाँ एसई मोडेल ल्याउने अपेक्षा गरिएको थियो । तर उसले अब ई सिरिजको आइफोन ल्याएको छ । आइफोन १६ ई मा पनि एप्पल इन्टेलिजेन्स फिचर रहेको छ ।
फेब्रुअरी २१ बाट यो आइफोनको प्रि अर्डर सुरु भएको छ र २८ फेब्रुअरीबाट यसको बिक्री सुरु हुनेछ ।
स्याटेलाइट फोन गर्न सकिने सुविधा
यो फोनमा शक्तिशाली ए १८ चिपसेट प्रयोग गरिएको छ, जुन आइफोन १६ मा पनि छ ।
आइफोन १६ ईमा केवल एउटा मात्रै रियर क्यामेरा हुनेछ, जुन ४८ मेगापिक्सेलको रहेको छ । यसमा ६.१ इन्चको ओएलइडी डिस्प्ले रहेको छ । यो फोनले पनि फेस आइडी सपोर्ट गर्दछ तर टच आइडी उपलब्ध छैन ।
यो फोनमा कस्टमाइजेबल एक्सन बटन पनि राखिएको छ । यद्यपि यसमा कम्पनीले क्यामेरा कन्ट्रोल फिचर उपलब्ध गराएको छैन, जुन आइफोन १६ मा उपलब्ध छ ।
यो नयाँ आइफोनको आधारभूत मोडेलमा १२८ जिबीको स्टोरेज रहनेछ । यो फोनमा वायरलेस चार्जिङ प्रविधि समेत हुनुका साथै धेरै हदसम्म यसमा पानी नछिर्ने (वाटर रेसिस्टेन्ट) गुण पनि रहेको छ ।
आइफोन १६ ई मा एप्पलले आफ्नै कम्पनीको मोडेम लगाएको छ, जबकि यसअघि आइफोनमा क्वालकोमका मोडेम प्रयोग हुन्थ्यो ।
यो फोनमा एप्पलको इमर्जेन्सी एसओएस सर्भिस पनि रहेको छ, जुन स्याटेलाइटमा आधारित छ । अर्थात् आपतकालीन अवस्थामा स्याटेलाइट फोन गर्न सकिने सुविधा पनि यसमा छ ।

यो फोनमा भिजुअल इन्टेलिजेन्स फिचर पनि रहेको छ ।
आइफोन १६ई का अन्य विशेषता यस्ता छन्–
- तौल : १६७ ग्राम
- अपरेटिङ सिस्टम : आइओएस १८.४
- इन्टर्नल मेमोरी : १२८ जिबी, २५६ जिबी, ५१२ जिबी
- र्याम : ८ जिबी
- हेक्जाकोर प्रोसेसर
- १२ मेगापिक्सेलको सेल्फी क्यामेरा
- युएसबी टाइप सी
- मूल्य : ५९९ डलरबाट सुरु