काठमाडौँ । नवलपरासीमा युवायुवतीको प्रेम सम्बन्धका कारण उत्पन्न दुई समुदायबिचको विवाद झडपको स्थितिमा पुग्दा प्रहरीसहित २१ जना घाइते भएका छन्। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा मंगलबार बिहान झडप भएको हो। उत्तेजक भिडले प्रहरीको गाडी जलाएको छ भने एक गोदाम घरमा आगजनी गरेको छ।
उत्तेजक भिड प्रहरीमाथि पनि जाइलागेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ। जसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका १६ जना घाइते छन्।
घटनामा ५ जना सर्वसाधारण पनि घाइते भएको प्रहरी निरीक्षक(इन्स्पेक्टर) नारायण थापाले जानकारी दिए। ‘प्रहरीको अवस्था सामान्य नै छ। एक जना सर्वसाधारणको अवस्था गम्भीर छ,’ उनले भने।
प्रहरीले स्थिति नियन्त्रणमा लिन ३ राउन्ड हवाई फायर र ५ सेल अश्रुग्याँस प्रहार गरेको इन्स्पेक्टर थापाले जानकारी दिए। उनका अनुसार अहिले स्थिति सामान्य छ। उग्र प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटना के हो ?
प्रहरीका अनुसार २० वर्षीय धोबी थरका युवा र १६ वर्षीया पवरिया(मुुसलमान) थरकी किशोरीबिच प्रेम सम्बन्ध र भागी विवाहका कारण दुई समुदाय आपसमा जुझेका हुन्। ‘प्रारम्भिक रूपमा यही सुनिएको छ। विस्तृत अनुसन्धान गर्न बाँकी छ,’ इन्स्पेक्टर थापाले भने।
केटा र केटी पक्ष दुवैको घर पाल्हीनन्दन गाउँपालिकाकै ३ नम्बर वडाको छोट्की कुस्मामा रहेको जनाइएको छ। केटीका हजुरबुबा नाता लाग्ने एक व्यक्तिको घर बेलासपुरमा छ।
सोमबार केटाका भाइ बेलासपुर पुग्दा केटी पक्षका युवाले उनीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ। उनी सामान्य घाइते भएका थिए। त्यसपछि राति नै केटा पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी निवेदन दिएका थिए।
‘हामीले राति नै छलफल गराउनुपर्छ कि ? भन्दा उहाँहरूले अहिले रात परिसक्यो सामान्य घटना नै हो बिहान गरौँला भनेका थिए,’ इन्स्पेक्टर थापाले भने,‘बिहान छलफल हुनुअगाडि नै यो घटना भयो।’
उता प्रहरीकहाँ छलफल गराउनुअघि नै मंगलबार बिहान केटा पक्ष कुटपिटको कारण सोध्दै केटी पक्षको घरमा पुग्दा झडप भएको बताइएको छ। केटा पक्षको समूह घरमा आइपुग्दा केटी पक्षको समूहले घरको छतबाट र केटा पक्षले बाहिरबाट ढुङ्गा हानाहान गरेर झडप सुरु भएको थियो।
यस क्रममा एक गाडी दौडाउँदा दुई जना घाइतेभएपछि अवस्था झन् उग्र बनेको प्रत्यक्षदर्शीले बताएका छन्। त्यसपछि सिर्जित अवस्था नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै भिड जाइलागेको थियो।