काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले नगद पुरस्कारसँगै यामाहाको तर्फबाट बाइक पनि पाउने भएका छन् ।
राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीका अनुसार यामाहाको तर्फबाट सलुटो १२५ सीसीको बाइक प्रदान गर्न लागिएको हो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोल गर्ने खेलाडी र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने यसअघि नै आयोजकले घोषणा गरिसकेको छ ।
केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मछिन्द्र एफसी र त्रिभुवन आर्मी क्लब भिड्दै छन् । दशरथ रंगशालामा साँझ ५ बजेबाट फाइनल खेल सुरू हुनेछ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने छ ।
फाइनल खेलमा विश्व चर्चित फुटबल खेलाडी इटलीका लिजेन्ड गोलकिपर जियालुजी बुफन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल अघि कुमा सागर, पुर्ण राईको प्रस्तुति रहनेछ ।
प्रतियोगितामा दुई विदेशसहित ९ टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल त्रिपुरेश्वरस्थित वल्डटेड सेन्टरको डिजिटल बोर्डबाट समेत खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।