युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिका-युक्रेन खनिज सम्झौतामा हस्ताक्षर गर्न फेरि तयार रहेको बताएका छन्। लन्डनमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि पनि आफू संयुक्त राज्य अमेरिकासँग वार्ता गर्न इच्छुक रहेको बताएका हुन्।
जेलेन्स्कीले ह्वाइट हाउसमा भएको घटनाले अमेरिका वा युक्रेनलाई फाइदा नपुर्याएर रुसी राष्ट्रपति पुटिनलाई मात्र फाइदा पुर्याएको बताएका छन्। उनले आफूलाई खनिज सम्झौता गर्न अमेरिकाले फेरि बोलाइयो भने ह्वाइट हाउस फर्कने बताए।
सुरक्षा ग्यारेन्टीको सर्त दोहोर्याए
जेलेन्स्कीले सुरक्षा ग्यारेन्टीको युक्रेनको माग सम्बोधन हुने आशा व्यक्त गरेका छन्। 'यदि दुबै पक्ष यसमा सहमत भए भने सम्झौतामा हस्ताक्षर हुनेछ।', उनले भने, ' म युक्रेनको पक्ष पनि सुनियोस् भन्ने चाहन्छु। हाम्रा साझेदारहरूले यो युद्धमा आक्रमणकारी को हो भनेर बुझ्नुपर्छ।'
जेलेन्स्कीले सोमबार बिहान सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका छन्। भडियमा उनले भनेका छन्, 'हामी अमेरिकाको महत्त्व बुझ्छौं। हामी अमेरिकाप्रति कृतज्ञ नभएको दिन कुनै पनि छैन। शान्तिको लागि सुरक्षा ग्यारेन्टी आवश्यक छ भन्ने कुरामा हामी सबै सहमत छौं। युरोपभरि नै यस्तै अवस्था छ।'
जेलेन्स्की-ट्रम्प बहसपछि सम्झौता रद्द
जेलेन्स्की फेब्रुअरी २८ मा ट्रम्पसँग खनिज सम्झौतामा हस्ताक्षर गर्न अमेरिका पुगेका थिए तर ट्रम्पसँगको भेटघाटका क्रममा उनको विवाद भएको थियो। यसपछि, जेलेन्स्की कुनै सम्झौता नगरी लन्डन गएका थिए।
ट्रम्प र भान्ससँगको बहसपछि पत्रकारहरूले अब यसलाई कसरी समाधान गर्ने भनेर सोध्दा जेलेन्स्कीले अमेरिका र युक्रेनबीचको सम्बन्ध जारी रहने बताएका थिए। जेलेन्स्कीले यदि युक्रेनले अमेरिकाबाट सहयोग पाउन बन्द गर्यो भने यसको फाइदा रूसलाई मात्र हुने बताए।
यसअघि आइतबार जेलेन्स्कीले रूसले कब्जा गरेको कुनै पनि युक्रेनी भूभागलाई मान्यता नदिने बताएका थिए। जेलेन्स्कीले आफूहरुको स्वतन्त्रता बिक्रीको लागि नभएको बताएका छन्।