पर्सा । पर्सा प्रहरी प्रमुखमा प्रहरी उपरीक्षक ( एसपी ) गौतम मिश्र आएसँगै जिल्ला प्रहरी कार्यालय वीरगन्जमा दलालको बिगबिगी र पहुँच पुरानै अवस्थामा फर्केको छ ।
प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलको कार्यकालमा दलाल र तस्करलाई जिल्ला प्रहरी कार्यालय पर्सामा प्रवेश निषेध गरिएको थियो संस्थागत तस्करी शुन्यमा झारेका एसपी ढुङ्गेल पर्सामा शान्ति सुव्यवस्था कायम राख्न दरिलो रुपमा प्रस्तुत भएकै कारण पर्साबासी जनताको मन जित्न सफल भएका एसपी ढुङ्गेल जनताको समस्याको समाधान आफनै कमान्डमा स्वस्फूर्त रुपमा गर्ने गरेका थिए तर एसपी मिश्र पर्सा आए देखि जिल्ला प्रहरी कार्यालय पर्साको माहोल फेरिएको छ ।
कार्यालयको हाताभित्र सेवाग्राही भन्दा दलालकै बढी भिडभाड रहेको देखिन्छ । एसपी ढुङ्गेलको पालामा जिप्रकाको मुल गेटमा ‘दलाल प्रवेश निषेध’ कोलागि गेटमा इन्ट्री राखिएको समेत एसपी मिश्र आएपछि हटाइएको छ ।
एसपी ढुङ्गेल पारदर्शी काम कामकारबाही गर्न गराउन बनाइएको नीति निर्देशन लत्याउँदै पुरानै रवैयामा फर्केका जिल्ला प्रहरी कार्यालयमा अहिले दलालको बिगबिगी र कर्मचारीको ब्यवहारले यसअघि खडा गरिएको सिस्टम ब्रेक भएको छ । विभिन्न बहानामा कार्यालयका कर्मचारीहरुले सेवाग्राहीलाई हैरान बनाउने गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सामा केही दलालको बिगबिगी बढेको प्रहरी स्रोतले नै जनाएको छ ।प्रहरीमा एउटै अनुहारका ८ देखि १० जनासम्म दैनिकजसो प्रहरी कार्यालयमा देखिने गरेको नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकृतले जानकारी दिनुभयो ।
प्रहरीमा मुद्दा मिलाइदिने, दर्ता गराई दिनेलगायतका बहाना देखाउँदै सर्वसाधारणलाई ठग्नका लागि ८ देखि १० जनासम्म दलाल बस्ने गरेको प्रहरी स्रोतको गुनासो छ ।
कोही दलका नेता त कोही पत्रकार मिलाइदिने नाममा दलाली गर्न र अवैध काम गर्न पल्केका ती प्रहरी अधिकृतको भनाइ छ । गाउँघरको सामान्य झै–झगडादेखि , मीटर ब्याजको मुद्दा , लागुऔषधको मुद्दा , केटाकेटी भागेको र आपराधिक गतिविधिका मुद्दामा ती दलाल सक्रिय भएको र केहीले प्रहरीकै नाममा रकमसमेत असुली गरेको गुनासा आएको पर्साबासीको दाबी रहेको छ । कार्यालयमा दलालको पहूँच कार्यालयका महत्वपूर्ण फाईल राखिएका कोठासम्म रहेको समेत खुलासा भएको छ ।
यस विषयमा थप केरकारका लागि विभिन्न ठाउँबाट आएका सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क गर्दा दलालको समस्या सबै सरकारी अड्डामा भएको बताउन समेत पछि परेनन् । जिल्ला प्रहरी कार्यालयमा भएको दलालको बिगबिगी त एउटा उदाहरण मात्र हो भने उहाँहरुको भनाई रहेको छ ।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सुबास भट्टसंग बुझ्दा जिल्ला प्रहरी कार्यालय पर्सामा बिचौलिया प्रवेशमा रोक लगाइएको साथै यदि बिचौलिया पाएको खण्डमा तुरुन्तै कारवाहीको दायरामा ल्याउने उनले बताए ।
पर्साको जिल्ला प्रशासन कार्यालय , जिल्ला अदालत , मालपोत कार्यालय , नापी कार्यालय , नापी गोश्वारा , भुमी सुधार कार्यालय लगायत जनताहरुसंग प्रत्यक्ष सरोकार राख्ने अन्य विभिन्न कार्यालयहरुले सेवाग्राहीहरु संग दलालको माध्यमबाट मनलाग्दो रकम असुल्ने सेवाग्राहीहरुको गुनासो रहेको छ ।
यो विषयमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्यालसँग बुझ्दा बिचौलिया नियन्त्रणका लागि सबै निकायसँग समन्वय गरेर बिचौलिया नियन्त्रण गर्न लागेका छौं,’ उनले भने, ‘बिचौलियाकै कारणले आम सेवाग्राही ठगिने गरेका छन्।’ उनका अनुसार सेवाग्राही ठगिएको उजुरी आउनसाथ तत्कालै कारवाही प्रक्रिया अगाडि बढाएको बताए । म आफै मालपोत कार्यालयमा तीनचोटि अनुगमन गरेर बिचौलिया नियन्त्रण गरेको बताए । जानकारी आउनसाथ आफू हरपल बिचौलिया नियन्त्रण गर्न लागिपरेको उनले बताए ।