अनुहारमा डन्डिफोर आएर धेरै युवायुवतीहरू चिन्तित हुन्छन्। यसलाई एक्ने भल्गारिस, पिम्पल, सेतो दाग (ह्वाइटहेड्स) वा कालो दाग (ब्ल्याकहेड्स) पनि भनिन्छ।
युवावस्थामा धेरै देखिने छालासम्बन्धी समस्या हो। अनुहारमा बाहेक शरीरको अन्य भागहरूमा पनि देखा पर्न सक्छ। तैलीय ग्रन्थी (सेबेसियस ग्ल्यान्ड) को अधिक सक्रियताका कारण यो समस्या हुन्छ।किन हुन्छ ?
हर्मोनल परिवर्तन : युवावस्थामा पुरुषहरूमा एन्ड्रोजन हर्मोन र महिलाहरूमा इस्ट्रोजन हर्मोन वृद्धि हुन्छ। जसले सेबेसियस ग्रन्थीलाई बढी सक्रिय बनाउँछ र छालामा अतिरिक्त तेल उत्पादन गराउँछ।
अनुवांशिक कारण : केही मानिसहरूमा तैलीय ग्रन्थीहरू बढी सक्रिय हुने जेनेटिक प्रवृत्ति हुन्छ।
अस्वस्थकर सरसफाइ र ब्याक्टेरियल संक्रमण : अनुहारमा बारम्बार फोहोर हातले छोएमा ब्याक्टेरिया छालामा प्रवेश गर्छ, जसले संक्रमण भई डन्डिफोर बिग्रन सक्छ।
मेकअप र मास्कको प्रयोग : धेरै युवाहरूले डन्डिफोर लुकाउनका लागि कस्मेटिक पाउडर प्रयोग गर्छन् वा अनुहार मास्कले छोप्छन्। जसले छालामा तेल र ब्याक्टेरिया थुनिएर समस्या झन् बढाउँछ।
स्थायी उपचार के छ ?
यो कुनै रोग नभई हर्मोन परिवर्तनको प्राकृतिक प्रक्रिया हो। स्थायी उपचार नभए पनि डन्डिफोरलाई सही सरसफाइ र छालाको हेरचाह गरेर नियन्त्रण गर्न सकिन्छ। डन्डिफोरलाई कहिले पनि निचोर्नु हुँदैन। निचोर्दा समस्या अझ बल्झन सक्छ।
अनुहार सफा राख्ने : अनुहारलाई दिनमा ३–४ पटक एन्टिसेप्टिक साबुन प्रयोग गरी सफा गर्नुपर्छ।
बारम्बार अनुहार नछुने : फोहोर हातले छोएमा ब्याक्टेरिया फैलिन्छ, जसले संक्रमण र पूस बन्न सक्छ।
सफा तौलिया प्रयोग गर्ने : अनुहार सफा गर्दा हल्का गरी पुछ्नुहोस्, रगड्ने काम गर्नुहुँदैन।
एन्टिसेप्टिक लोसन : ब्याक्टेरिया नियन्त्रण गर्न एन्टिसेप्टिक लोसन प्रयोग गर्नु लाभदायक हुन्छ।
डाक्टरको सिफारिसअनुसार एन्टिसेप्टिक मलमको प्रयोग : यदि एक्ने धेरै बिग्रिएको वा संक्रमण भएको छ भने दिनमा ३–४ पटक एन्टिसेप्टिक मलम लगाउन सकिन्छ।
कस्मेटिक पाउडर र अनुहार मास्क प्रयोग नगर्ने : डन्डिफोर लुकाउनका लागि कस्मेटिक्स प्रयोग गर्दा वा अनुहार मास्क लगाउँदा समस्या झन् बढ्न सक्छ।