बेइजिङ । जनवरी २९ को वसन्त महोत्सवमा रिलिज भएदेखि नै चिनियाँ एनिमेटेड फिल्म ‘ने झा २’ले एकपछि अर्को बक्सअफिस कीर्तिमान रचिरहेको छ । यो फिल्म चिनियाँ बजारमा मात्र १ अर्ब डलरको कमाइ गर्ने पहिलो चिनियाँ फिल्म बनेको छ ।
फेब्रुअरी १२ सम्म, यसको कमाई ९.३ अर्ब युआन (१.२७ अर्ब डलर) नाघेको थियो । साउथ चाइना मर्निङ पोस्टका अनुसार पछिल्लो सोमबारसम्म २ बिलियन डलर बराबरको टिकट बिक्री भएको छ ।
मार्चको सुरुवातसम्मको फिल्मको विश्वब्यापी कमाइ २.०१५ विलियन डलर नजिक पुगेको टिकट बिक्री प्लाटफर्म मायोनले उल्लेख गरेको छ । चिनियाँ बजारमा हलिउडसहित पश्चिमा फिल्मको प्रभावलाई चिर्दै पहिलोपटक चिनियाँ घरेलु एनिमेटेड फिल्मले यति धेरै कमाइ गरेको हो ।
‘ने झा २’यो कमाइले चिनियाँ बक्सअफिसमा तरंग पैदा गरेको छ । यद्यपि, केही चिनियाँ फिल्म निर्माता र स्टुडियो संचालकले ‘नो झा २’को अभूतपूर्व कमाइ हेर्दा तत्कालै यसले चिनियाँ फिल्म बजारको आकार र सम्भावनालाई परिवर्तन गर्ने भन्ने कुरामा टिप्पणी गर्नु हतार हुने उल्लेख गरेका छन् ।
यो वर्ष चिनियाँ फिल्मको १२० औं वार्षिकोत्सव र विश्व फिल्मको १३० औं वार्षिकोत्सव हो । ‘ने झा २’को बलियो प्रदर्शनले विश्वव्यापी फिल्म उद्योगभित्र आत्मविश्वास बढाएको छ, कलाको रूपमा फिल्मको स्थायी जीवन्ततालाई पुनः पुष्टि गरेको छ र चिनियाँ फिल्म निर्माणमा बहुमूल्य अन्तर्दृष्टि प्रदान गरेको छ ।
सन् २००८ मा जब ‘कुङ फु पाण्डा’ले बक्स अफिसमा आफ्नो छाप छोड्यो, यसले चीनलाई स्तब्ध तुल्यायो । अमेरिकीले चिनियाँ संस्कृतिमाथि प्रहार गरेको भन्दै राष्ट्रवादी रिसाएका थिए र सरकारी प्रतिबन्धको माग उठेको थियो ।
हलिउड स्टुडियो ड्रीमवक्र्सको फिल्मको सफलताले समेत चिनियाँ फिल्म उद्योगमा तरंग पैदा गरेको थियो । ‘ने झा २’ ले चिनियाँ सांस्कृतिक सम्पदाको गहिराइ र समृद्धिलाई उजागर गर्छ । फिल्मले चीनको काँस्य युगलाई दर्शाउँछ, जसले दर्शकलाई प्राचीन चिनियाँ इतिहासमा फिर्ता लैजान्छ ।
‘ने झा २’ को सफलताले चीनमा फिल्म निर्माताहरूको नयाँ पुस्ताको आगमनलाई पनि संकेत गर्दछ ।
यो फिल्म सन् २०१९ को हिट ‘ने झा’को सिक्वेल हो । ‘ने झा’ र ‘जियाङ जिया’ (२०२०) पछि एनलाइट पिक्चर्सको फेंगशेन युनिभर्सअन्तर्गतको यो तेस्रो श्रृंखला हो । जिओजी (यु याङ)द्वारा लिखित र निर्देशित यो फिल्म चिनियाँ पौराणिक कथा र १६ औं शताब्दीको उपन्यास इन्भेस्टिचर अफ द गड्स (फेंगशेन यान्यी)बाट प्रभावित छ ।