काठमाण्डौ । अमेरिकी सहायतामा सञ्चालित तर अहिले रोकिएका परियोजना अन्योलग्रस्त बनेका छन् । ९० दिनका लागि अमेरिकी सरकारले एमसीसी, यूएसएआईडीलगायत परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा रोकिएको छ ।
एमसीसीमार्फत अमेरिकी सरकारले ५० करोड अमेरिकी डलर अनुदान स्वरूप उपलब्ध गराउने योजना थियो र नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा १३ करोड अमेरिकी डलर बराबरको रकम विनियोजन गर्नुपर्ने व्यवस्था थियो ।
अमेरिकी सरकारको एमसीसी अनुदान तत्काललाई बन्द गराउने निर्णयले ऊर्जा र सडक पूर्वाधार विकासका महत्त्वपूर्ण कामहरु रोकिएका छन् ।
सडकतर्फ पूर्व–पश्चिम राजमार्ग कपिलवस्तुको चन्द्रौटादेखि लमही हुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको कुल एक सय किलोमिटर सडकको स्तरोन्नति तत्कालका लागि अगाडि बढ्न नसक्ने अवस्था छ । यूएसएआईडीमार्फत पनि अमेरिकी सरकारले नेपाललाई ठूलो सहायता गरिरहेको थियो ।
नेपालको स्वास्थ्य, शिक्षा, कृषि र समावेशी नीति सम्बन्धी चार ठूला परियोजनामा यूएसएआईडीको लगानी थियो । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी विदेश मन्त्रालय र यूएसएआईडीमार्फत प्रवाह गरिने सबै विदेशी सहायता ९० दिनका लागि रोक्का गर्ने निर्णय लगत्तै सञ्चालित परियोजना अहिले ठप्प छन् ।
सरकारले अहिलेसम्म वैकल्पिक स्रोत खोज्ने प्रयास गरेको छैन । अर्थ मन्त्रालयका सहसचिव श्यामप्रसाद भण्डारीले अहिले पर्ख र हेरकै अवस्थामा रहेको बताउनुभयो । उहाँकाअनुसार अहिले स्थगन मात्रै भनेकाले अर्थ मन्त्रालयले कुनै निर्णय गरेको छैन । यद्यपी आयोजनाहरु अघि बढाउन आन्तरिक रुपमा विकल्पबारे अर्थ मन्त्रालयमा छलफल चलिरहेको सहसचिव भण्डारीले बताउनुभयो ।