काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा दिएको भिडियो सन्देशले राजतन्त्र समर्थकहरूलाई थप उत्साहित बनाएको छ । यो सन्देशपछि देशभर राजावादी समूहहरू सक्रिय भएका छन्, जसका कारण काठमाडौँ, पोखरा, वीरगञ्ज लगायतका ठूला सहरहरूमा प्रदर्शनहरू तीव्र भएका छन् । ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारासहित मोटरसाइकल र्यालीहरू निकालिँदै छन्, जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरूको उपस्थिति देखिएको छ ।
यसैबीच, राजतन्त्र पुनःस्थापनाको कुरा उठेसँगै गणतन्त्र समर्थक दलहरूले कडा प्रतिवाद जनाएका छन् । प्रमुख राजनीतिक दलका नेताहरूले पूर्वराजा शाहलाई गद्दी फर्कने सपना नदेख्न चेतावनी दिँदै, जनता कुनै हालतमा सामन्ती व्यवस्थामा फर्कन नचाहने दाबी गरेका छन् । विशेषतः माओवादी केन्द्रले राजावादीहरूको सक्रियता देखेर आफ्नो मधेस केन्द्रित अभियानलाई केही समयका लागि स्थगन गरेको छ । गणतन्त्र पक्षधर दलहरू राजावादी गतिविधिहरूप्रति आक्रामक देखिएका छन् ।
राप्रपा र राप्रपा नेपालले राजतन्त्रको पक्षमा जनमत बढाउने प्रयास गरिरहेका छन् । तर, सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले भने राजावादी गतिविधिप्रति असन्तोष प्रकट गरेका छन् । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुलेरै पूर्वराजा शाह र राजावादी गतिविधिहरूको विरोध गरेका छन् ।
प्रधानमन्त्री ओलीले पूर्वराजालाई दल खोलेर प्रत्यक्ष चुनाव लड्न चुनौती दिँदै भने, ‘लोकप्रिय हुनुहुन्छ भने पार्टी खोल्नोस्, चुनाव लड्नोस्, किन लुकेर बस्ने ?’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ज्ञानेन्द्र शाहकै कारण गणतन्त्र आएको उल्लेख गर्दै भने, ‘राजाले शासन सम्हाल्दा गरेका अलोकतान्त्रिक गतिविधिले नै गणतन्त्र ल्याएको हो । अहिले उनको कुनै स्थान छैन ।’ माओवादी अध्यक्ष प्रचण्डले पूर्वराजाले थप मूर्खता गरे वर्तमान सेवासुविधासमेत कटौती गर्न सकिने चेतावनी दिएका छन् ।
राजतन्त्र पुनःस्थापनाको बहसले राजनीतिमा तरंग ल्याएको छ । एकातर्फ राजावादीहरू आक्रामक रुपमा अभियानमा लागिरहेका छन् भने गणतन्त्र पक्षधर दलहरू यो विषयलाई सशक्त रूपमा प्रतिवाद गरिरहेका छन् । यसले देशमा पुनः पुरानो राजनीतिक बहसलाई सतहमा ल्याएको देखिन्छ ।
गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको टिप्पणी गरेका छन् । पछिल्लो समय गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरूले भ्रम फैलाइरहेको र त्यस्तो भ्रममा राजा हौसिन आवश्यक नरहेको जिकिर गर्दै गृहमन्त्री लेखकले भने, ‘केही मानिसहरूले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइराखेका छन्, त्यो भ्रमले राजा हौसिन आवश्यक छैन । आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरू उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै छ । नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह छ । यसलाई कमजोरीका रूपमा लिए परिणाम राम्रो हुँदैन ।’
सांसदहरूको आपत्ति
सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिप्रति आपत्ति जनाएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले लोकतन्त्रविरोधी गतिविधि रोक्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् । नेकपा एकीकृत समाजवादी (नेकपा एस)का सांसद उदयबहादुर बोहराले लोकतन्त्रमाथिको प्रहार सैहृय नहुने चेतावनी दिँदै भने, ‘केही समययता काठमाडौंलगायत मुलुकका केही सहरहरूमा नाराजुलुस भइरहेका छन् । उक्त जुलुसमा सरकार मात्रै होइन, लोकतन्त्रमाथि नै प्रहार भइराखेको छ । हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिष्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन् । यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले पनि नलियोस् ।’
माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले वंश विनाश गर्नेले नै अहिले राजा फर्काउने भनेर नाटक मञ्चन गरेको आरोप लगाउँदै भने, ‘संविधानविरोधी गतिविधि हुँदा पनि सरकारले अराजकता नियन्त्रण किन गर्न सकिरहेको छैन ? अहिले प्रतिगामी शक्तिहरू अहिले राजा फर्काउने भन्दै छन् । जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने एउटा नाटक मञ्चन गरिरहेका छन् । जसले वंश विनाश गरे उनैले राजा फर्काउने नाटक मञ्चन गरिरेहका छन् ।’
माओवादी केन्द्रकै सांसद सुरेश आले मगरले विगतमा सेरेमोनियल र बेबी किङको पक्षमा रहेकाहरू सत्ताको नेतृत्वमा रहेका बेला राजावादीको भूत सल्बलाउन थालेको टिप्पणी गरे । जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद मोहम्मद खालिदले सरकारलाई संविधानविरोधी गतिविधि हेरेर नबस्न आग्रह गर्दै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ? सरकारले आफ्नो दायित्व पूरा गरोस् ।’
गणतन्त्र पक्षधरहरूको गठबन्धन बनाउन राष्ट्रिय जनमोर्चाको प्रस्ताव
राष्ट्रिय जनमोर्चाले देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकता औँल्याएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले आइतबार एक विज्ञप्ति जारी गरेर गठबन्धनका लागि जोड दिँदै भनेका छन्, ‘राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्न सम्भव भएको थियो । तर, प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनविरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ । त्यसैले हामीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरू बीच ऐक्यबद्धता कायम हुनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसरी लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बीचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरंकुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुनेछ ।’
रास्वपाको धारणा के ?
पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय राजनीतिक सक्रियता बढाइरहेको बेला परम्परागत राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलहरूले कडा प्रतिक्रिया दिइरहेका छन् । देशमा गणतन्त्रवादीविरुद्ध राजतन्त्रवादीहरू सक्रिय भइरहेका बेला पछिल्लो चुनावबाट उदाएको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने मौन देखिएको छ ।
दलहरूले कित्ता ‘क्लियर’ गरिरहेका बेला लोकप्रियताकै नाराका आधारमा उदाएको कान्छो दल रास्वपा तत्काल कतै पनि खुलेको छैन । आफूलाई वैकल्पिक शक्ति दाबी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पछिल्लो गतिविधिप्रति मौन देखिएपछि अनेक आशंका उब्जिएका छन् । रास्वपाले पनि आधिकारिक रूपमा राजावादीको सक्रियताबारे कुनै प्रतिक्रिया जनाएको छैन ।