काठमाडौं । करिब एक महिना पोखरा बसाइपछि फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौंमा हजारौँको सहभागितामा र्याली गरियो ।
पोखराको पुरानो विमानस्थलबाट समिट एयरको जहाज चार्टर्ड गरेर काठमाडौं ओर्लिएका पूर्वराजा शाहले कडा सुरक्षाका बीचमा गाडीबाटै फुलमाला लिएर शुभेच्छुकलाई हात हल्लाउँदै अघि बढे ।
पूर्वराजा आफ्नै गाडीमा बसेर कहिले झ्याल खोलेर त कहिले टाउको माथि निकालेर समर्थकलाई हात हल्लाउँदै हिँडिरहे ।
०६२–६३को जनआन्दोलनपछि भूमिकाविहीन अवस्थामा रहेको नेपालको राजसंस्था २०६५ जेठ १५ मा संविधानसभाको पहिलो बैठकले गणतन्त्र घोषणा गरेलगत्तै पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटी दरबारमा पत्रकार सम्मेलन गरेर बाहिरिएपछि सम्भवतः उनका पक्षमा देखिएको यो ठूलो र्याली थियो ।
त्यसअघि सक्रिय शासनकालमा अभिनन्दनका नाममा उनी जिल्ला जिल्लामा पुग्ने गरेका थिए । उनी काठमाडौं फर्किने क्रममा पोखरा र काठमाडौं विमानस्थलक्षेत्रमा उनका समर्थकहरूले शक्ति प्रदर्शन गरे ।
हजारौँ समर्थकलाई सडकमा उतारेर उनी गाडी चढेर सँगसँगै निर्मल निवास पुगे ।
शाहकै शैली पछ्याउँदै दुर्गा प्रसाईं, राप्रपाका नेता ज्ञानेन्द्र शाही, स्वागत नेपालहरु त्यसैगरी गाडीबाट अघि बढेको विषयले भने राजावादी समूहमा असन्तुष्टि चुलिएको छ ।
त्यही कारण लिङ्देन उक्त र्यालीमा अनुपस्थित हुने तयारीमा थिए । तर अन्तिम समयमा गलत सन्देश जाने भन्दै उनी पनि सहभागी भएको नजिकका नेताहरू बताउँछन् । त्यहाँ कमल थापा पनि सडकमै ठेलमठेलका बीच पुगेर पूर्वराजालाई स्वागत गर्न भ्याए । उनले त्यसलाई १८ वर्षपछिकै खुसीको दिन भनेका छन् ।

२०६५ मा पूर्वराजा नारायणहिटीबाट बाहिरिएपछि संविधानसभामा राजसंस्थाको विषय उठाइरहने पार्टी राप्रपा नेपालमात्रै थियो । तर आइतबारको र्यालीमा पुगेका थापाप्रति पनि भीडले आलोचना गर्दै नाराबाजी गरेको थियो ।
राप्रपाका एक पदाधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने, “केही भाइरलम्यानका कारण हाम्रो अभियान नै कमजोर हुने अवस्थामा पुग्यो । यो विषयलाई हामीले गम्भीररुपमा लिएका छौँ ।”
उनले दुर्गा प्रसाईं, ज्ञानेन्द्र शाही र स्वागत नेपालको नामै लिएर अभियानको अग्रपंक्तिमा रहेको र पूर्वराजाकै शैली अपनाएको विषयमा पार्टीमा गम्भीर छलफल हुने बताए ।

“यदि राजतन्त्रको एजेन्डा अघि सारेर आन्दोलन गर्ने हो भने त्यसको नेतृत्वमा राप्रपा र अध्यक्ष नै हुनेछन्,” उनले भने, “राप्रपा र त्यसको नेतृत्वलाई बाइपास गरेर अघि बढ्न खोजियो भने त्यसले रिजल्ट चाहिँ दिँदैन ।”
पूर्वराजाको स्वागतमा लिङ्देन अनुपस्थित हुने विषय पनि आफ्नै पार्टीका केही नेताहरुले चलाएको हल्ला भएको उनको टिप्पणी थियो ।
“हामीले आज पदाधिकारी बैठक पनि बोलाएका छौँ, हिजोको विषयमा गम्भीर छलफलको तयारी छ,” ती नेताले भने । उनले र्यालीमा देखिएको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिरका विषयमा पनि छलफल हुने बताए ।