सिरहा । सिरहामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीय नागरिकले नेपाली नागरिकता लिएको तथ्य बाहिरिएको छ । नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसका आधारमा भारतीय नागरिक मोसताक मियाँले नागरिकता पाएका हुन् ।
मोसताक भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका बासिन्दा हुन् । वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन सिरहाले २०८० असार २६ मा मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरेको थियो । वडाले सिफारिस गरे पनि अधिकांशलाई आवश्यक जाँचबुझ तथा स्थानीयको मुचुल्का गरी मात्रै नागरिकता जारी गर्ने जिल्ला प्रशासनले यसमा भने सामान्य केरकार पनि गरेको देखिँदैन ।
नागरिकताका लागि नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुनलाई बुबाआमा देखाएर सनाखत गर्न लगाइएको छ । तर, मोसताक आफ्नो छोरा नभएको र आफूहरूले नचिन्ने उनीहरूले बताएका छन् । व्यक्तिगत कामले वडामा गएको बेला झुक्याएर हस्ताक्षर गराइएको दाबी उनीहरूको छ । ‘वडामा गएका बेला सचिवले यसमा पनि सही गरिदेऊ भनेपछि गरिदियौं, हामी पढेलेखेका होइनौं,’ अमानतले भने ।
वडाध्यक्ष अन्सारीले पनि मोसताक अमानत र रजिनाका छोरा नभएको स्वीकार गरेका छन् । तर, उनीहरू आफन्त नै भएको अन्सारीको तर्क छ । ‘मोसताक उनीहरूको छोरा होइन, तर आफन्त हुन्,’ उनले भने, ‘भूलचुकमा सिफारिस हुन गयो ।’ वडासचिव रामदेव मण्डलले भने यसमाआफ्नो कुनै दोष नभएको र अध्यक्षले लगाएको तोक आदेशका आधारमा सिफारिस दिएको दाबी गरेका छन् । ‘म कर्मचारी हुँ, यहाँका सबैलाई चिन्ने कुरा हुँदैन,’ उनले भने, ‘अध्यक्षजीले तोक लगाइदिनुभयो, मैले सिफारिस दिएँ, यसमा मेरो दोष छैन ।’
वडाको सिफारिसका आधारमा जिल्ला प्रशासनले भारतीयलाई नागरिकता दिएलगत्तै यस विषयमा गाउँमा हल्लाखल्ला भएको थियो । नागरिकता जारी भएको एक साता नहुँदै २०८० साउन १ मा स्थानीय उलफत मियाँले आर्थिक प्रलोभनमा परी नागरिकता दिइएको भन्दै जिल्ला प्रशासनमा उजुरी दर्ता गराए । यस्तै, स्थानीय इनुस मियाँले २०८० साउन ४ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि कारबाहीका लागि उजुरी दर्ता गराएका छन् । उजुरीमा उनले आर्थिक चलखेल गरी भारतीयलाई नागरिकता दिइएको र यसमा वडाध्यक्षले एक लाख, सनाखत बस्ने अमानत र रजिनाले पचास/पचास हजार भारतीय रुपैयाँ लिएको उल्लेख गरेका छन् ।
अख्तियारले २०८० भदौ ४ मा छानबिन तथा आवश्यक कारबाहीका लागि २०८० साउन १५ मा गृह मन्त्रालय र बर्दिबासस्थित अख्तियारको कार्यालयमा पत्र पठाइएको जवाफ दिएको छ । यसमाथि कुनै कारबाही नभएको भन्दै इनुसले २०८० मंसिर ६ मा सचिवलाई सम्बोधन गर्दै गृह मन्त्रालयमा पनि उजुरी दिएका छन् । तर, अझै पनि भारतीय नागरिकलाई नागरिकता दिलाउने काममा संलग्नहरूमाथि कारबाही हुन सकेको छैन । सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल भने उजुरी परेपछि जिल्ला प्रशासनले नागरिकता झिकाइसकेको र यस विषयमा अनुसन्धान भइरहेको दाबी गरेका छन् ।