काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछनेको सांसद पद निलम्बन हुनुलाई अनुचित भनेका छन् ।
‘अर्को प्रतिपक्षी दलको नेतालाई अनुचित ढंगले निलम्बन गरिएको छ र त्यसले लोकतन्त्रप्रति जनाआस्थामा पारेको प्रभाव आफैं मूल्यांकन गर्नुहोस्,’ प्रचण्डले भने ।
गत ८ पुसमा सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय गरेका थिए ।
लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको जानकारीपत्र प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्रमार्फत गराएको थियो ।
सोही पत्रको आधारमा सभामुख घिमिरेले लामिछानेको सांसद पद निलम्बन हुने निर्णय लिएका थिए ।
‘…प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेको सो कानुनी व्यवस्थाको प्रयोजनको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सभामुखको निर्णयपछि संघीय संसद् सचिवालयले निकालेको सूचनामा उल्लेख छ ।
तर, सभामुख घिमिरेको यो निर्णयलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अनुचित भनेका हुन् ।
मंगलबार संसद्मा विशेष समय लिएर बोल्दै प्रचण्डले रविबारे सरकारले लिएको नीति र त्यसअनुसार गरिरहेको गतिविधिले लोकतन्त्रलाई मद्धत नगरिरहेको बताए ।
उनले भनेका छन्, ‘हिरासतमा नभएको नेतालाई सदनमा आउन दिने प्रचलन हामीले पहिला स्थापित गरिसकेका छौं । सदनभित्रै बहस गराउँदा मात्र लोकतन्त्र सुदृढ गर्न मद्धत गर्छ । ठाउँ ठाउँ घुमाएर हुर्मत लिने कामले लोकतन्त्रलाई, मद्धत गर्दैन ।’