काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा स्ववियुका उम्मेदवारबीच सहमति जुट्न नसकेपछि संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षले छुट्टै उम्मेदवार खडा गरेका छन् ।
सभापति शेरबहादुर देउवाले पार्टीबाट गठित निर्देशक समितिलाई नेविसंघका उम्मेदवार टुंगो लगाउन सहजीकरणका लागि निर्देशन दिएका थिए । सहमहामन्त्री किशोरसिंह राठोर संयोजक रहेको उक्त समितिमा केन्द्रीय सदस्यहरू प्रतिमा गौतम र राजिव ढुङ्गाना सदस्य छन् ।
संस्थापनइतरबाट कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलाई नेता डा.शेखर कोइरालाले खटाएका थिए । संघबाट स्ववियुका उम्मेदवार टुंगो लगाउन हिजो र आज अबेर दिउँसोसम्म बैठक बसेको थियो ।
उपत्यकाका क्याम्पसहरूमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा पक्षबाट अध्यक्षको उम्मेदवारका लागि टिकट पाएका छन् ।
काठमाडौंका क्याम्पसमा भागबण्डामा सहमति जुट्न नसक्दा नेविसंघबाट बागी उम्मेदवारी परेको हो । ‘जहाँ जुन व्यक्ति बलियो छ त्यसकै आधारमा र जित्न सक्नेलाई उम्मेदवार बनाएको’ केन्द्रीय सदस्य राजिव ढुङ्गानाले जानकारी गराए ।
त्रिभुवन विश्वविद्यालय, किर्तीपुरमा वर्तमान उपाध्यक्ष अनोज कार्की नेविसंघको आधिकारिक उम्मेदवार बनेका छन् । नेता शेखर कोइराला पक्षका विद्यार्थीले टिकट पाउन नसकेपछि स्वतन्त्र उम्मेदवारका रुपमा सनम ओलीले अध्यक्षमा मनोनयन दर्ता गरेका छन् ।
लोकतान्त्रिक दल भएकाले आदेशात्मक प्रणाली नभएको शेखर पक्षका नेता एवं कोशीका पूर्व मुख्यमन्त्री कार्कीको भनाइ छ । उनी भन्छन्, ‘आफ्नो क्षमता जाँच्छु भनेर कसैले भन्यो भने वैयक्तिक स्वतन्त्रतालाई कहाँ रोक्न सक्छौं र ?’
आरआर क्याम्पसमा नेविसंघको आधिकारिक उम्मेदवारमा अध्यक्षका लागि विनोदराज जोशीले नाम दर्ता गरेका छन् । कमर्स क्याम्पस मीनभवनमा रवीन ओली, पुल्चोक इन्जिनियररिङमा ऋिषभ गिरी उम्मेदवार बनेका छन् । जोशी र ओली पार्टीका संस्थापन पक्षधरका हुन् भने गिरीलाई सर्वसम्मत रुपमा चयन गरेर नाम पठाइएको थियो ।
वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा सफल गुरुङ उम्मेदवार बनेका छन् । आरआर क्याम्पसमा नेविसंघको बागी उम्मेदवारी परेको छ । शेखर पक्षबाट दीपेन्द्र रावतले उम्मेवारी दिएका छन् ।
नेविसंघबाट त्रिचन्द्रमा गोविन्द कोइराला र अस्कलमा राजु लामिछाने अध्यक्षको उम्मेदवार बनेका छन् । कोइराला र लामिछाने महामन्त्री गगन थापा निकट हुन् ।
त्रिचन्द्रमा आधिकारीक उम्मेदवार कोइराला बनेपछि नेता शेखर पक्षबाट सागर न्यौपानेको उम्मेदवारी परेको छ । पोखरास्थित पीएन क्याम्पसमा अध्यक्षमा सुशील न्यौपानेले उम्मेदवारी दिएका छन् । थापाथली क्याम्पसमा प्रल्हाद खड्कालाई नेविसंघले टिकट दिएको छ भने शेखर पक्षबाट शिशिर सापकोटा उम्मेदवार बनेका छन् ।
सानोठिमीमा नेविसंघ र अखिल (क्रान्तिकारी)ले चुनावी तालमेल गरेका छन् । अध्यक्ष अखिललाई दिएर नेविसंघले तालमेल गरेको हो ।
त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध सात विद्यार्थी संगठनले चुनावी गठबन्धन गरेका छन् ।
अनेरास्ववियुबाट अध्यक्ष बनाएर सात विद्यार्थी संगठनले स्ववियुमा प्रतिस्पर्धा गर्न लागेका हुन् । छ वटा कम्युनिस्ट पार्टीधर विद्यार्थी संगठन र एउटा आदिवासी जनजाति महासंघको विद्यार्थी संगठनले चुनावी तालमेल गरेका छन् ।
प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय आजको लागि तोकिएको थियो ।
विद्यार्थी कल्याणाकारी परिषदका अनुसार दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ र नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक २९ फागुनका लागि तोकिएको छ ।