आज करोडौं मानिसहरू च्याट गर्न ह्वाट्सएपको प्रयोग गर्छन् । ह्वाट्सएपमार्फत व्यक्तिहरूले आफ्नो व्यक्तिगत जानकारी पनि सेयर गर्छन् । तर, आपराधिक गतिविधिहरूको वृद्धिसंगै ह्वाट्सएप डेटा लिक हुने खतरा पनि बढेको छ ।
ह्वाट्सएपमा मेसेज, फोन नम्बर, फोटो, भिडियो लगायत धेरै व्यक्तिगत डेटा सुरक्षित हुन्छ । यदि तपाईंको फोन ह्याक भयो भने, यी सबै जानकारी सजिलै ह्याकरको हातमा पुग्न सक्छ ।
आज भोलि ह्वाट्सएपमा नयाँ किसिमको ठगी देखिएको छ । तपाईंको कुनै चिनजानको व्यक्तिले तपाईंलाई एउटा कोड पठाउँछन् । त्यसपछि, त्यो कोड गल्तीले डिलिट भएको भन्दै पुनः पठाउन भन्छन् ।
यदि तपाईंले त्यो कोड पठाउनुभयो भने, तपाईं आफ्नो ह्वाट्सएपको नियन्त्रण गुमाउनुहुन्छ । धेरै मानिसहरूलाई त आफ्नो ह्वाट्सएप ह्याक भएको छ भन्ने कुरा नै थाहा हुँदैन् । यसबीच तपाईंका व्यक्तिगत डेटा लिक भईसकेको हुन्छ ।
अब प्रश्न उठ्छ, ह्वाट्सएप ह्याक भएको छ कि छैन कसरी थाहा पाउने? यहाँ हामी तपाईंलाई ह्वाट्सएप ह्याक भएको संकेतहरू र यसबाट कसरी सुरक्षित रहने भन्ने उपायहरू बताउँदैछौं ।
ह्वाट्सएप ह्याक भएको संकेतहरू
- तपाईंले कहिल्यै नपठाएको सन्देशहरूको रिप्लाई आउन थाल्छ ।
- तपाईंका साथीहरूले तपाईंको नम्बरबाट अनौठा सन्देशहरू आइरहेको गुनासो गर्छन् ।
- च्याटहरू आफैं मेटिन्छन्, जुन तपाईंले डिलिटनै गर्नुभएको हुुँदैन् ।
- ह्वाट्सएप अचानक लगआउट हुन्छ र पुनः लग इन गर्न खोज्दा एकपटक प्रयोग गर्ने ओटीपी मागिन्छ ।
- तपाईंको अनुमति बिना ह्वाट्सएप ग्रुपहरुमा ज्वाइन गरिन्छ ।
- स्टोरी वा स्टेटस तपाईंले नपोस्ट गरे पनि देखिन्छ ।
- ह्वाट्सएप सिक्योरिटी भेरिफिकेशन कोडको अनुरोध आउँछ, जुन तपाईंले नगरेको हुन्छ ।
ह्वाट्सएप कसरी ह्याक गरिन्छ?
– लिंक्ड डिभाइस मार्फत
ह्याकरहरूले तपाईंको ह्वाट्सएप कुनै अर्को उपकरणसँग लिंक गरिदिन्छन् ।
त्यसपछि, उनीहरूले तपाईंका ह्वाट्सएप गतिविधिहरू निगरानी (ट्र्याक) गर्न सक्छन् ।
– अकाउन्ट ट्रान्सफर गरेर
ह्याकरले आफ्नो फोनमा तपाईंको ह्वाट्सएप नम्बर रजिस्टर गर्छ ।
त्यसपछि तपाईं ह्वाट्सएपबाट बाहिरिनुहुन्छ, तर ह्याकरले तपाईंको नयाँ सन्देशहरू पढ्न सक्छन् ।
ह्वाट्सएप ह्याक भएमा के गर्ने?
- लिंक्ड डिभाइसमा गएर अनजान उपकरणलाई तुरुन्त लगआउट गर्नुहोस् ।
- ह्वाट्सएप फेरि इन्स्टल गरेर आफ्नो नम्बरबाट लग इन गर्नुहोस् ।
- नयाँ एकपटक प्रयोग गर्ने ओटीपी प्रविष्ट गर्नुहोस्, यदि ह्याकरले सिक्योरिटी पिन सेट गरिसकेको छ भने फरगट पिन प्रयोग गर्नुहोस् ।
- आफ्ना साथीभाइ र परिवारलाई तुरुन्त सूचित गर्नुहोस् । किनभने ह्याकरले तपाईंको नामबाट ठगी गर्ने प्रयास गर्न सक्छ ।
ह्वाट्सएप ह्याक हुनबाट कसरी जोगिने?
- दुई–चरणीय प्रमाणीकरण (टू स्टेप भेरिफिकेसन) अन गर्नुहोस् ।
- एकपटक प्रयोग गर्ने ओटीपी कसैसँग पनि साझा नगर्नुहोस् ।
- अनजान सन्देश वा लिंकमा क्लिक नगर्नुहोस्।
- ह्वाट्सएपको सुरक्षासम्बन्धी सेटिङहरू सधैं अपडेट राख्नुहोस् ।
- यी उपायहरू अपनाएर ह्वाट्सएप ह्याकिङ बाट जोगिनुहोस् र आफ्नो व्यक्तिगत डेटा सुरक्षित राख्नुहोस् ।