जनकपुरधाम । सिरहा विष्णुपुर गाउँपालिका–१ बजारस्थित पशु सेवा शाखा कार्यालयमा १३ फागुन दिउँसो सवा १२ बजे भोगेन्द्र यादव र सुनिता मण्डल बोका उपचार गराउन पुगे ।
सिरहा नगरपालिका–१० पदमपुरबाट अटो रिक्सा चढेर ७०–७० रुपैयाँ भाडा तिरेर आएका उनीहरू बोकाको उपचार गराउन चाहन्थे । तर, कार्यालय बन्द थियो । कर्मचारी आउने आशामा उनीहरू केहीबेर पर्खे ।
‘बोकालाई बधिया गराउन ल्याएको हुँ । अटोमा ७०–७० रुपैयाँ भाडा तिरेर आएँ । तर, अहिलेसम्म कार्यालय खुलेको छैन । सरकारी अफिस त १० बजे नै खुल्छ,’ भोगेन्द्रले गुनासो गरे । एक वर्षअघि यसै कार्यालयमा सेवा पाएका उनले यसपालि भने निराश हुनुपर्यो ।
उनीहरू केही समय पर्खिए, वरिपरि हेरे, तर कोही आएनन् । स्थानीयबाट उनीहरूले जानकारी पाए– यो कार्यालय केही समयदेखि नै बन्द छ । त्यसपछि उनीहरू थप निराश भए ।
‘बेकारमा यहाँ बोका लिएर आयौं । बरु, केही थप भाडा तिरेर सदरमुकाम गएको भए काम हुन्थ्यो । अब फेरि भाडा तिरेर फर्किनुपर्छ । सरकारी कार्यालयको हालत नै यस्तो छ,’ सुनिता मण्डल गुनासो गर्दै घरतिर लागिन् ।
पशु सेवा कार्यालयसँगै रहेको कृषि विकास शाखा कार्यालय पनि त्यतिबेला बन्द नै थियो । विष्णुपुर गाउँपालिका अन्तर्गत रहेका यी दुवै कार्यालय स्थानीय किसानका लागि अत्यन्तै आवश्यक छन् । तर, यी दुवै कार्यालय भदौदेखि निरन्तर बन्द रहेको वडा नम्बर १ का अध्यक्ष भोगेन्द्र यादवले बताए ।
‘भदौमै दुवै कार्यालयका कर्मचारी नियमित अवकाशमा गएपछि जनशक्ति अभावका कारण कार्यालय बन्द छ,’ वडाध्यक्ष यादवले भने, ‘यसकारण विभिन्न समस्या लिएर दिनहुँ आउने किसानहरू निराश भएर फर्किनुपरेको छ ।’
यी कार्यालय गाउँपालिका कार्यालयबाट करिब १ सय ५० मिटर दुरीमा भए पनि सेवा लिन नपाएर स्थानीय मर्कामा परेका छन् ।
गाउँपालिका कार्यालयका अनुसार पशुसेवा शाखामा कार्यरत प्राविधिक रामदयाल यादव र कृषि विकास शाखामा कार्यरत शिवशंकर यादव गत भदौमै नियमित अवकाशमा गएका थिए ।
उनीहरूको अवकाशपछि जनशक्ति अभावका कारण कार्यालय प्रायः बन्द रहने गरेको छ ।
प्रशासनिक कामकाजको देखभालका लागि रोजगार संयोजक दीपक मण्डल र धनवीर यादवलाई थप जिम्मेवारी दिइएको थियो । स्थानीयका अनुसार उनीहरू कहिलेकाहीँ मात्र कार्यालय खोल्ने र बन्द गर्ने गर्छन् ।
पालिकाका अधिकांश नागरिक कृषि पेसामा संलग्न छन् । तर, कृषिसँग सम्बन्धित दुवै शाखा बन्द हुँदा किसानहरू बालीनाली तथा पशुसेवा सम्बन्धी सेवा नपाएर समस्यामा छन् ।

जनशक्ति व्यवस्थापनमा पालिका प्रमुखले चासो नदिँदा किसानलाई सेवा दिने दुवै कार्यालय अस्तव्यस्त बनेको वडाध्यक्ष यादवले गुनासो गरे ।
‘कार्यालय बन्द रहेको भन्दै वडावासीले पटक–पटक गुनासो गर्छन् । मैले पनि कर्मचारी व्यवस्था गरी नियमित सेवा प्रवाह गर्न पालिका अध्यक्षलाई धेरैपटक आग्रह गरेँ । तर, उहाँको कुनै चासो देखिँदैन,’ वडाध्यक्ष यादवले भने ।
यता पालिका अध्यक्ष सत्यनारायण यादव भने केही समयदेखि कार्यालय नियमित रूपमा सञ्चालनमा आएको दाबी गर्छन् ।
‘पछिल्लो १०–१२ दिनदेखि पशुसेवा कार्यालय नियमित रूपमा खुल्छ । भेटेरिनरी प्राविधिक बद्रीनारायण यादवले सेवा दिइरहनुभएको छ । कृषि शाखामा लक्ष्मी पासवान बसेर सेवा प्रदान गर्नुहुन्छ,’ उनले भने ।
उनका अनुसार भेटेरिनरी प्राविधिक यादव केही दिनअघि मात्र सिरहा कल्याणपुर नगरपालिकाबाट सरुवा भई आएका हुन् ।
पालिकाले जनशक्ति व्यवस्थापनका लागि थप प्रयास गरिरहेको अध्यक्ष यादवले बताए । यद्यपि, केही वर्षअघि संघीय सरकारको करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पशुसेवा कार्यालय जीर्ण अवस्थामा पुगेको छ ।
भवनका विभिन्न भाग चर्किएका छन् । शौचालयको ढोका तोडफोड छ । कतै कुनै बोर्ड छैन । दुवै कार्यालय भद्रगोल र अस्तव्यस्त छन् ।