होली मनाउने क्रममा घरको छतबाट लडेको, मोटरसाइकल दुर्घटनामा परेको, लोलाले आँखा वा कानमा गंभिर असर पुगेको घटना बारम्बार सुनिने गर्छ । खासमा त यो रङहरूको उत्सव हो, जसलाई सद्भावपूर्वक खेल्ने गरिन्छ । तर, कतिपय गल्ती, कमजोरीले गर्दा होली बिर्सनलायक बन्ने गर्छ । के-कस्तो अवस्थामा होली जोखिमपूर्ण हुनसक्छ ?
छतबाट लड्ने जोखिम
होली बालबालिकाका लागि जति रोमाञ्चक हुन्छ, उति नै जोखिमपूर्ण पनि । होली खेल्दा पानी छ्यापाछ्याप गर्दा त्यो पानीमा नै चिप्लिएर बच्चाहरू लड्ने सम्भावना हुन्छ ।
रङकै मामलामा पनि सानो असावधानीले बालबालिकाको जीवनमा ठूलै समस्या निम्त्याउन सक्छ । त्यसैले, बालबालिकाको साथमा होलीको तयारी गर्दा उनीहरूको सुरक्षाबारे पनि विशेष ध्यान दिनुपर्छ।
संवेदनशील अंगमा असर
पानी भरिएको लोला खेल्न त निकै रमाइलो हुन्छ । बालकदेखि युवासम्म लोला भनेपछि मक्ख पर्ने गर्छन् । कतिपयले होलीमा बाटोमा हिँडिरहेका व्यक्तिलाई जथाभावी लोलाले हान्ने गरेको पनि पाइन्छ । तर, जोरले लोला हान्नाले चोट पटक लाग्न सक्छ । आँखा, छाला तथा कानमा क्षति पुग्नसक्छ । त्यसैले लोलाको प्रयोग गरेर होली खेल्नु भन्दा पिचकारीको प्रयोग गरेर होली खोल्नु राम्रो हुन्छ।
बाइक दुर्घटनाको भय
कतिपयको होली भाङ नखाएसम्म पूरा हुँदैन भन्छन् । त्यसैले होलीमा भाङलगायतका अन्य नशालु वस्तुको सेवन गर्ने धेरै हुन्छन् । तर, यस्ता नशालु पदार्थ सेवन गर्दा विभिन्न समस्या हुन सक्छ, जसका बारेमा सचेत हुनु अत्यन्त जरुरी हुन्छ।
विशेष गरी ठूला सहरमा युवा-युवतीहरू भाङ तथा अन्य नशालु पदार्थ खाएर बाइक कुदाउने गर्छन् । यसरी नशालु पदार्थ खाएर बाइक तथा अन्य सवारी साधन कुदाउँदा दुर्घटना हुने सम्भावना हुन्छ । त्यसैले नशालु पदार्थ खाएर बाइक तथा अन्य सवारी साधन नचलाउनु नै राम्रो हुन्छ ।
छालाको जटिल समस्या
होलीको नाममा बजारमा विभिन्न किसिमको सिन्थेटिक रङ बेच्न राखिएको हुन्छ, जुन केमिकलयुक्त हुन्छ । छालाको सम्पर्कमा आउनासाथ यसले छालालाई विभिन्न किसिमले हानी गर्छ । बजारमा पाइने कतिपय रङ्गहरूमा रसायन मिसाइएको हुन्छ जसले शरीरमा क्यान्सर समेत गराउँछ । त्यसैले होली खेल्न प्राकृतिक रङ्गको व्यवस्था गर्नु उत्तम हुन्छ।