जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएपछि यातायात व्यवस्थापन थप मर्यादित र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभएको छ ।
बिहीबार जनकपुरधाम उपमहानगरपालिका ८ स्थित यातायात व्यवस्था कार्यालय धनुषाको नयाँ भवन र आधुनिक ट्रायल सेन्टरको भूमिपूजन गर्नुहुँदै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो ।
उहाँले यातायातलाई प्रदेश सरकारको प्रमुख आर्थिक स्रोतको रूपमा उल्लेख गर्नुहुँदै यसलाई मर्यादित बनाएर सञ्चालन गर्न सके प्रदेश सरकारको आम्दानी आवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउने हो भने प्रदेश सरकारको आम्दानीमा वृद्धि हुन सक्छ । आधुनिक ट्रायल सेन्टरको स्थापना यस दिशामा एउटा महत्त्वपूर्ण कदम हुनेछ ।”
मुख्यमन्त्रीले प्रदेश सरकारले चाँडै गुठी ऐन ल्याउने बताउनुभयो । उहााले गुठी एन प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने हुँदा प्रदेश सरकारले चाडै गुठी ऐन ल्याएर प्रदेशका गुठीका जग्गालाई व्यवस्थित गर्ने जानकारी दिनुभयो ।
यस्तै उहाँले परिक्रमा सडकभित्र मांस र मदिराजस्ता पदार्थ बन्द गराउने योजना समेत रहेको बताउनुभयो ।
यसैगरी श्रम तथा यातायातमन्त्री कौशल किशोर रायले पनि यातायात क्षेत्रको विकासमा सरकारको योगदान र योगदानको महत्त्वपूर्ण आफ्नो धारणा राख्नुभएको छ ।
मन्दिरका महन्त, जग्गादाता एवं सीता कुण्डका महन्त रामनरेश दासले एक विघा क्षेत्रफल रहेको जग्गा कार्यालयको लागि दान गर्नुभएको हो ।
यातायात व्यवस्था कार्यालय धनुषाका प्रमुख एवं कार्यक्रमका अध्यक्ष धनंजयकुमार सिंंहको अध्यक्षतामा आयोजित कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रंजितकुमार यादव, वडा नं. ८ का अध्यक्ष दिनेशकुमार सिंह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्तालगायतको उपस्थिति रहेको थियो ।