जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत १५ दिने यात्रामा रहेकाहरू आज पुनः जनकपुरधाम फर्किँदै छन् । उनीहरू हिजो १४औं दिन भारत बिहारको विसौलमा विश्राम गरेपछि आज जनकपुरधाम आउन लागेका हुन् ।
जनकपुरधाम प्रवेश गरेका तीर्थयात्रीहरू ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान, तिरहुतिया गाछी तथा अन्य विभिन्न ठाउँमा विश्राम गर्नेछन् ।
यही फागुन १५ गते धनुषाको मिथिला नगरपालिका–८ कचुरीमा रहेको मिथिला बिहारी मन्दिरबाट शुरू भएको परिक्रमा जनकपुरमा किशोरीजीको डोला समावेश भएपछि विधिवत् रूपमा प्रारम्भ भएको थियो ।
फागुपूर्णिमाको अवसरमा आज जनकपुरधाम फर्किएका तीर्थयात्रीहरूले भोलि अन्तिम दिन अन्तरगृह परिक्रमा गर्नेछन् । यो परिक्रमालाई ‘पञ्चकोशी परिक्रमा’ पनि भनिन्छ । जसमा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू पनि सामेल हुने गर्छन् ।
१५ दिने परिक्रमा यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फूलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही र पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधामसम्म एक सय ३३ किलोमिटरको यात्रा गरिन्छ ।
भोलि शुक्रवार परिक्रमा समापन भएसँगै पर्सि शनिवार मिथिलाञ्चलभरी होली पर्व उल्लासका साथ मनाइनेछ ।