धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरिएको छ। होली पर्वको अवसरमा शुक्रबार मिथिला नाटयकला परिषद् जनकपुरधामले प्रत्येक वर्ष झै यस वर्ष पनि मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरेको महामूर्ख सम्मेलनमा मुख्यमन्त्री सिंहलाई महामूर्खको उपाधिबाट सम्मान गरेको हो।
समाजको विभिन्न क्षेत्रमा राम्रा कामकाज गर्ने विभिन्न क्षेत्र व्यक्तिलाई होलीको अवसर पारेर आयोजना गर्ने महामूर्ख सम्मेलनमा विभिन्न मान पदवीबाट सम्मान गर्ने चलन अनुसार मुख्यमन्त्री सिंहसहितका व्यक्तिलाई सम्मान गरिएको मिनापका महासचिव शैलेन्द्र मलिकले जानकारी दिनुभयो।
उपाधि प्राप्त गरी सम्मानित हुनेमा वरिष्ठ साहित्यकार एवम् कवि सियाराम झालाई पटमूर्ख, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख किशोरी साहलाई हराशंख, वरिष्ठ पत्रकार रारिझन यादवलाई लोहाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेशका निमित सचिव राजेश मिश्रलाई बालबोध, अरविन्द लाल कर्णलाई वज्रकिट , डा.राम विनय चौधरीलाई खपसुरता, मिथिला चित्रकलालाई देश विदेश सम्ममा पुर्याउने सितादेवी कर्णलाई गणपसारैन, पशु चिकित्सक डा. पिंकी मण्डललाई मनतोरिया, नेपाल वार एसोसियसन जनकपुरधामका अध्यक्ष विमल मिश्रलाई पवित्र पापी, कृष्ण चन्द्र चौधरीलाई सोटाचन, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारीलाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरण गुप्तालाई डपौर शंख र संवाद फाउण्डेसनका अध्यक्ष कुमार भाषकरलाई तरघुसुवाको उपाधि प्रदान गर्दै सम्मान गरिएको हो।

सम्मानित हुनेहरुलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, मिनापका अध्यक्ष परमेश झासहितका अतिथिले माला, मिथिला चित्रकला र सम्मानपत्र प्रदान गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दैै मुख्यमन्त्री सिंहले समाजमा विभिन्न खालका विकृति अहिले पनि यथावत रहेको भन्दै त्यसता विकृतिको विरुद्ध हामी सबै एक भएर समाप्त गर्नुपर्ने धारणा राख्नुभयो। कार्यक्रममा विभिन्न खालका लोक भाकाका होली गीतका साथ साथै समाजमा देखिएका विकृतिहरु विरुद्ध कविले आफनो कविता वाचन गरेका थिए।