काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताएका छन् ।
शनिबार एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्द्धनका लागि राजनीतिकर्मी भूमिका विषयक कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पछिल्लो राजनीतिक परिवर्तन पछाडि समावेशितालाई संघीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रूपमा लिइएको बताए । नेपालको संविधान यस अर्थमा उदाहरणीय छ भन्ने कुरा अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा हुने गरेको पोखरेलले स्पष्ट पारे ।
नेपालको संविधान र निर्वाचनसम्बन्धी कानुनले नै महिलाको कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको उनले बताए । स्थानीय तहमा ४० प्रतिशतभन्दा माथि र प्रदेश तथा प्रतिनिधि सभामा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको पोखरेलको भनाइ छ ।
महिला सहभागिताको हिसाबले एमाले अन्य दलभन्दा फरक रहेको पनि उनले स्पष्ट पारे । पार्टीका दस्ताबेजमा महिला सहभागिता सुनिश्चित गर्ने पार्टी एमाले नै भएको पनि उनले दाबी गरे । ‘जतिबेला एमाले भूमिकामा आउँछ, त्यतिबेला महिलाको नेतृत्व स्थापित गर्दछ’, उनले भने । एमालेले नेपालको पहिला राष्ट्रपति, पहिलो प्रधानन्यायाधीश, पहिलो सभामुख बनाउन भूमिका खेलेको उनले स्पष्ट पारे ।
त्यस्तै, संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो महिला मुख्यमन्त्री पनि एमालेले नै बनाएको उनले स्मरण गराए । पहिलो महिला मुख्य सचिव पनि एमाले नेतृत्वमा आएकै बेला भएको पोखरेलले बताए । ‘यो विषयको नेतृत्वकर्ता पार्टी हो नेकपा एमाले, हामीले यो तथ्यलाई स्थापित गरेका छौँ’, उनले भने ।
गएको स्थानीय तह निर्वाचनमा संविधानको अपव्याख्या गरेर एमालेविरुद्ध गठबन्धन गर्ने दलहरूले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा अलग अलग पार्टीका नाममा पुरुष उम्मेदवार उठाएकाले यस पटक स्थानीय तहमा महिला सहभागिता न्यून रहेको पोखरेलले बताए ।
नेपालको संविधानले हरेक क्षेत्रमा शतप्रतिशत महिला सहभागिता सुनिश्चित गरेको भए पनि पुरुष सहभागिता ६६ प्रतिशतभन्दा माथि हुन नसक्ने पोखरेलले बताए । तर व्यवहारतः महिला सहभागिता ३३ प्रतिशतबाट माथि जान नसकेको बताउँदै उनले यसको लागि महिला सशक्तीकरण आवश्यक रहेको स्पष्ट पारे । आर्थिक सशक्तीकरण नभई सामाजिक सशक्तीकरण सहज नभएको पोखरेलले बताए । ‘जबसम्म कमाइमा महिलाको सहभागिता बढ्दैन, तबसम्म राजनीतिमा महिला सहभागिता बढ्दैन, महिला सहभागिता बढाउने कुरा उत्पादनको ढाँचामा परिवर्तनसँग सम्बन्धित छ’, उनले भने ।
सामाजिक र सांस्कृतिक मान्यताको कारण पनि महिला पछाडि पारिएको पोखरेलले बताए । तर अहिले पनि महिलाहरूको तिनै कुरामा आशक्ति देखिएको बताउँदै उनले त्यसलाई चिरेर महिला आन्दोलन अघि बढाउनु पर्नेमा जोड दिए ।