सप्तरी । सप्तरीलाई आँपको राजधानी मानिन्छ । देशैभरिमा यहाँ फलेको आँपको माग उच्च हुन्छ तर यस वर्ष भने सप्तरीमा आँप उत्पादनमा भने कमि आउने भएको छ ।
देशभरिमै स्वादिष्ट आँपको लागि लोकप्रिय मानिने सप्तरीमा यस वर्ष आँपको बोटमा विगतको तुलनामा कम मन्जरी लागेकोले उत्पादनमा कमि आउने भएको हो । गत आर्थिक वर्षमा ७१ हजार २५० मेट्रिकटन आँपको उत्पादन भएकोमा यस बर्ष ५० हजार ५० मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिनुभयो ।
गत वर्ष आँपका लागि ‘अनयेयर’ अर्थात् फल्ने वर्ष थियो र यस वर्ष ‘अफयेयर’ अर्थात् नफल्ने वर्ष भएकोले उपादकत्वमा कमी आउने उहाँले बताउनुभयो । “आँपको नेचर नै त्यस्तो हुन्छ, एक वर्ष धेरै फल्ने र त्यसपछिको बर्ष कम फल्ने र यो वर्ष कम फल्ने वर्ष भएकोले उत्पादनमा कमी आउनु स्वभाविक हो,” राउतले भन्नुभयो ।
कूल ७ हजार ७ सय हेक्टर जमिनमा आँपको बोट रहेको सप्तरीमा आर्थिक बर्ष २०८०÷०८१ मा प्रति हेक्टर ९ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व रहेकोमा यस वर्ष प्रति हेक्टर ६ दश्मलव ५ मेट्रिकटन उत्पादकत्व हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रुपमा पनि चिनिएको सप्तरीको भोगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।
मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि रामै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट रहेको बताउनु हुन्छ कृषि ज्ञान केन्द्र सप्तरीका वागवानी अधिकृत रक्षा यादव । उहाँले यहाँको मालदह, बम्बई, कलकतीया, अम्रपाली, मल्लिका र गुलाव खास आँप एकदमै स्वादिलो हुने भएकाले अनयन्त्र जिल्ला पनि ती आँपहरुको ठूलो माग रहि आएको बताउनुभयो ।