वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहमा ‘ट्यांक कन्टेनर’ आउन थालेको छ । गत आइतबार पहिलो पटक कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाह आएको हो ।
बारा जितपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रालिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्यांक कन्टेनर सुक्खा बन्दरगाह आएको हो ।
२० फुटे ९० वटा ट्यांक कन्टेनरमा २० हजार टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको हो ।
सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडक मार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने तेल आयात कम्पनीका पदाधिकारी बताउँछन् ।
सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गोमात्र आउने गरेको थियो । १६ असार २०८० देखि लुज कार्गो (कोइला) आउन थालेको थियो ।

अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु थालेको हो । यसले वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने देखिएको छ ।
ट्यांक कन्टेनर पूर्णरूपमा शिल भएर आउने भएकाले बाटोमा तेल चोरीका घटना नहुने जनाइएको छ । सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्यांकर नपाइने समस्याबाट समेत आयातकर्ताले छुट पाएका छन् ।
ट्यांक कन्टेनर सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुका साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्णक्षमतामा सञ्चालनमा आउने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
कोइला र तेल व्यवस्थापन आफैंमा महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ । ‘हाम्रा बन्दरगाहहरूलाई क्षमता वृद्धि गरिरहेका छौं, आधुनिकीकरण गरिरहेका छौं,’ उनले भने ।