पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि विवादित बनेको पृथ्वीनारायण क्याम्पस (पीएन) पोखरामा भोलि (बुधबार) बिहान ८ बजेदेखि मतदान हुने भएको छ ।
निर्वाचन समितिले विज्ञप्ति जारी गर्दै बुधबार बिहान ८ बजेदेखि मतदान गर्ने जानकारी दिएको हो ।
त्रुटि भएको मतपत्र रद्द गरी नयाँ छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान सुरु गर्न नसकिएको हुँदा ६ चैत बिहान ८ बजेदेखि सुरु हुने निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिएका छन् ।
उनले मतदात प्रक्रियालाई सहयोग गरिदिन पनि विद्यार्थी संघ, संगठनलाई आग्रह गरेका छन् ।
मतपत्रमा समानुपातिकतर्फ अखिल छैटौंको चिह्न नै नभएपछि उत्पन्न विवादका कारण मतदान नै सुरु हुन सकेको थिएन निर्वाचन समितिले गल्ती स्वीकार गर्दै फेरि मतपत्र छापेर निर्वाचन प्रक्रियामा जाने बताएको थियो ।
निर्वाचन समितिको त्रुटिका कारण निर्वाचन नै अन्योल भएको भन्दै विद्यार्थी संगठनले नाराबाजी र प्रदर्शन गर्दै छिटो निर्वाचन गराउन माग गरेका थिए ।
नाराबाजीकै क्रममा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीच सामान्य झडपसमेत भएको थियो । निर्वाचन समिति र क्याम्पस प्रशासनविरुद्ध विद्यार्थीले नाराबाजीसमेत अहिले पनि गरिरहेका छन् ।
अनेरास्ववियु र नेवि संघ क्याम्पस गेटमा नाराबाजीका बीच धकेलाधकेल हुन थालेपछि प्रहरीले स्थिति बिग्रन दिएको थिएन । क्याम्पस गेटमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
समानुपातिकतर्फको मतपत्रमा चिह्न नै समावेश नगरी छापेर निर्वाचन समितिले चुनाव नै प्रभावित गर्न खोजेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाइरहेका छन् ।
पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापतिका लागि ८ जना उम्मेदवार छन् । ९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत पृथ्वीनारायण क्याम्पसमा अहिलेसम्म नेकपा एमाले निकटको अनेरास्ववियुले चुनाव जित्दै आएको छ ।
अनेरास्ववियुको बिरासत तोड्न अहिलेसम्म अरू संगठनले सकेका छैनन् । यसपटक भने संगठनहरू बिरासत जोगाउने र भत्काउने रणनीतिमा छन् ।
स्ववियु सभापतिका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी संघबाट सुशील भट्टराई, अखिल क्रान्तिकारीबाट नवीन अधिकारी चुनावी मैदानमा छन् ।
यसैगरी अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (वैद्य) को संयुक्त प्यानलबाट सन्तोष पौडेल सभापतिका उम्मेदवार छन् ।
अखिल छैटौंबाट मिलन सुनार र प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले पनि स्ववियु सभापतिमा उम्मेदवारी दिएका छन् । विप्लवी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
विप्लवीलाई राष्ट्रिय स्वतन्त्र पार्टी निकट विद्यार्थीले साथ दिएका छन् । कास्कीमा नेकपा माओवादी केन्द्रको गुटगत राजनीतिको प्रभाव विद्यार्थी चुनावमा पनि देखिएको छ ।
पृथ्वीनारायण क्याम्पसमा विद्यार्थीबीच विवाद भएपछि अघिल्लो स्ववियु निर्वाचन पनि हुन सकेको थिएन ।
हेर्नुहोस् सूचना :
