काठमाडौं । कहिले काहीँ तपाईँ हामी पनि अन्तरङ्ग वा गोप्य फोटो, भिडिओ वा अडियो आफ्ना साथीभाइ तथा प्रेमी-प्रेमिका बीच आदानप्रदान गरिरहेका हुन्छौँ । यसरी पठाएको फोटो, भिडिओ वा अडियो अर्को व्यक्तिले भोलिका दिनमा दुरुपयोग गर्ने वा सेभ गरेर राख्ने जोखिम पनि सँगसँगै रहन्छ ।
यस्तै किसिमको समस्या समाधान हुने गरी मेटा कम्पनीले फेसबुक मेसेन्जर र ह्वाट्सएपमा एउटा विशेष फिचर ल्याएको छ । 'भ्यु वन्स' फिचर प्रयोग गरी तपाईँले कुनै फोटो पठाउनु भयो भने प्राप्त गर्ने व्यक्तिले खोलेपछि आफैँ मेटिएर जान्छ । यति मात्र होइन, यसरी पठाएको फोटो, भिडिओ वा अडियो पाउने व्यक्तिले अरूसँग शेयर गर्न, फर्वार्ड गर्न, सेभ गर्न, कपी गर्न वा स्क्रिनशट लिन पनि सक्दैन ।
ह्वाट्सएपमा कसरी प्रयोग गर्ने भ्यु वन्स फिचर ?
- यसका लागि सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् र एकपल्ट खोलेपछि आफैँ हराउने गरी फोटो, भिडिओ वा भोइस पठाउन चाहेको व्यक्तिको मेसेज बक्समा जानुहोस् ।
- अब अट्याचमेन्ट आइकन वा क्यामेरा आइकनमा थिचेर पठाउन चाहेको भिडिओ वा फोटो छान्नुहोस् ।


- यति गर्ने बित्तिकै क्याप्सन लेख्ने बक्सभित्र दायाँतर्फ घेराभित्र रहेको 1 देखिन्छ, त्यसमा थिच्नुहोस् र उक्त फोटो वा भिडिओ पठाउनुहोस् ।
- भोइस मेसेजका लागि मेसेज बक्सको दायाँतर्फ रहेको भोइस रेकर्डर अर्थात् माइक बटनमा केही बेर थिच्नुहोस् र त्यसलाई माथितर्फ धकेल्नुहोस् । त्यहाँ रेकर्ड भइरहेको अडियोको वेभसँगै दायाँतर्फ घेराभित्र रहेको 1 मा थिच्नुहोस् ।



- यसरी उक्त मेसेज पठाउनु भयो भने प्राप्त गर्ने व्यक्तिले एकपटक खोलेपछि सो मेसेज आफैँ हराएर जानेछ ।
फेसबुक मेसेञ्जरम भ्यु वन्स फिचर प्रयोग गर्ने तरिका
- सबैभन्दा पहिला फेसबुक मेसेन्जर एप खोल्नुहोस् र यस्तो मेसेज पठाउन चाहेको व्यक्तिको मेसेज बक्स खोल्नुहोस् ।
- अब पठाउन चाहेको फोटो वा भिडिओ छान्नुहोस् र तल बायाँर्फ रहेको एडिट बटनमा दबाउनुहोस् ।


- त्यहाँ बायाँतर्फ रहेको क्वालिटी, योर स्टोरीसँगै घेराभित्र रहेको 1 मा ट्याप गर्नुहोस्, त्यसको मुनी भ्यु वन्स (View once) देखिएपछि मेसेज पठाउनु होस् ।
- क्यामेराबाट तत्कालै खिचेर पठाउनु पर्ने फोटो वा भिडिओको लागि क्यामेरा आइकनमा थिचेर फोटो वा भिडिओ खिच्नुहोस् र अघि जस्तै तल देखिने भ्यु वन्सको अप्सन छानेर पठाउनु होस् ।