वीरगञ्ज । रौतहटमा पहिलो दिनमै माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ लाई मर्यादित बनाउन प्रशासनले कडा कदम उठाएपछि ठूलो सङ्ख्यामा मोबाइल बरामद भएको छ ।
विभिन्न परीक्षा केन्द्रमा परीक्षार्थीहरूले चिट चोर्न मोबाइल प्रयोग गर्न खोजेपछि कडा सुरक्षा चेकजाँचका क्रममा ४२४ वटा मोबाइल फोन बरामद गरी नियन्त्रणमा लिइएको हो ।
विगतमा मेसेन्जर, ह्वाट्सएप, भाइवरलगायतका ग्रुप प्रयोग गरी चिट आदानप्रदान गर्ने प्रवृत्ति मौलाएको देखिएकाले यस वर्ष परीक्षा प्रणाली थप कडा बनाइएको छ । प्रविधिको दुरुपयोग रोक्न सुरक्षाकर्मीहरूलाई परीक्षा केन्द्रहरूमा परिचालन गरिएको हो ।
परीक्षा सुरक्षालाई बलियो बनाउन स्थानीय प्रशासनले विशेष निगरानी राखे पनि यमुनामाई गाउँपालिका-५ स्थित श्री यमुनामाई माध्यमिक विद्यालय, झुन्खुन्वा परीक्षा केन्द्रमा एक परीक्षा निरीक्षक नै परीक्षार्थीहरूबाट रकम लिएर मोबाइल भित्र प्रवेश गराएको आरोपमा पक्राउ परेका छन् ।
त्यस्तै मौलापुर नगरपालिका-५ स्थित श्री लक्ष्मिनिया मावि, मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा संलग्न एक व्यक्ति पनि पक्राउ परेका छन् । पक्राउ परेका दुवै जनाको प्रहरीले नाम खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय रौतहटले परीक्षाको मर्यादा भङ्ग गर्ने कार्यमा संलग्न दुवै व्यक्तिलाई सम्मानित जिल्ला अदालतबाट म्याद अनुमति लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।
विगतका वर्षहरूमा सामाजिक सञ्जालको माध्यमबाट चिट पुर्याउने कार्य व्यापक बनेपछि यसपालि परीक्षा केन्द्रहरूमा निगरानी थप कडा पारिएको हो । परीक्षा प्रणालीलाई पारदर्शी बनाउन गरिएको कडाइका बाबजुद ४२४ मोबाइल बरामद हुनुले अझै प्रभावकारी निगरानी आवश्यक रहेको देखिएको छ ।
एसइई परिक्षा अन्तर्गत ४२४ मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।
