अन्तरीक्षयानको चारैतर्फ तापक्रम करीब १९२७ डिग्री सेल्सियस थियो । ६ देखि ७ मिनेटसम्म उक्त अन्तरीक्षयानमा के भयो र त्यो कहाँ थियो भन्ने कुरा नासाको नियन्त्तण कक्षमा केहीपनि जानकारी आएन ।
तर त्यसको ५ मिनेटपछि नासाको डब्ल्यू बी ५७ सर्भिलान्स विमानका क्यामेराले पृथ्वीतर्फ आउँदै गरेको ड्रयागन अन्तरीक्षयानका तस्वीर कैद गर्यो । तबमात्रै नासाको नियन्त्रण कक्षमा बसेका व्यक्तिहरुले राहतको स्वास फेरे । त्यसको केही मिनेटमै अन्तरीक्षयानसँग सम्पर्क स्थापित भयो ।
वास्तवमा पृथ्वीतर्फ अघि बढिरहेको हरेक अन्तरीक्षयान पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने खतरनाक प्रक्रियाका बेला नियन्त्रण कक्षबाट के मिनेटका लागि सम्पर्क विच्छेद हुन्छ ।
उक्त छोटो समयलाई ब्लाक आउट टाइम भनिन्छ । यद्यपि यो एक सामान्य कुरा हो, तथापि भयानक अन्तरीक्ष दुर्घटनाहरु त्यहीँ छोटो समयभित्रै भएका छन् ।
यस्तो दुर्घटना हुनुको खास कारण के हो भने त्यो सम्पर्कवीहिन समयमा यदि अन्तरीक्षयानमा कुनै खराबी आएमा नियन्त्रण कक्षमा रहेका विशेषज्ञ टोलीले अन्तरीक्षयात्रीलाई मार्गनिर्देश गर्न पउँदैनन् । साथै अन्तरीक्षयात्रीहरुले पृथ्वीमा रहेका कुनै टिमलाई आपतकालीन सूचना पनि पठाउन सक्दैनन् ।
यसको एउटा दुखद उदाहरण सन् २००३ मा कोलम्बिया अन्तरीक्षयान दुर्घटना हो । त्यसमा नासाका सातजना अन्तरीक्षयात्रीहरु सवार थिए र ती मध्ये एकजना भारतीय मूलकी कल्पना चावला पनि थिइन् । त्यस दुर्घटनामा ती सबै जनाको मृत्यु भयो ।
रेडियो ब्लाकआउट के हो ?
आखिर किन कुनै अन्तरीक्षयानले पृथ्वीमा फर्किँदा ब्लाकआउट टाइम या रेडियो ब्लाकआउट जस्ता घटनाको सामना गर्नुपर्छ त ?
वैज्ञानिकका अनुसार वायुमण्डलमा पुनः प्रवेशका बेला अन्तरीक्षयानको अत्यधिक गति तथा वायुकणसँगको घश्रणका कारण १९०० देखि २००० डिग्री सेल्सियस सम्मको अधिक तापमानको सामना गर्नु पर्दछ । १००० डिग्री स्ेल्सियस भन्दा अधिक तापमानका कारण अन्तरीक्षयानको चारैतर्फ प्लाज्माको निर्माण हुन्छ ।
उदाहरणका रुपमा त्यस्तो प्लाज्मा आकाशमा देखिने बिजुलीमा रहेको हुन्छ । त्यहीँ प्लाज्मा आवरणका कारणले पृथ्वी तथा अन्तरीक्षयानबीचको रेडियो संचार सम्पर्क विच्छेद हुन्छ ।
त्यो प्लाज्माले अन्तरीक्षयानको चारैतर्फ एउटा आवरण (शिल्ड) बनाउँछ । हाम्रो दूरसन्चार प्रणाली विद्युत चुम्बकीय तरंगमा निर्भर हुन्छ । सोही कारण त्यस्तो शिल्डले गर्दा विद्युत चुम्बकीय तरंगको सन्चार ठप्प हुन्छ । त्यसबाट पृथ्वी र अन्तरीक्षयान बीचको सम्पर्क टुट्दछ ।
नासाका अनुसार यहीँ प्रक्रियाका कारणले गर्दा अन्तरीक्षयान पृथ्वीको निकट आउने समय आगोको गोला जस्तै देखिन्छ ।
त्यो ब्लाकआउट टाइमको बेला अन्तरीक्षयानभित्र के भैरहेको छ भन्ने कुरा थाहा पाउन असम्भव हुन्छ । शक्तिशाली दूरविनबाट हेर्दा पनि त्यो केवल एउटा सेतो वा निलो बल पृथ्वीतर्फ आइरहेको जस्तो मात्रै देखिन्छ ।
अन्तरीक्षयानको प्यारासुटको पहिलो सेट तैनाथ नगरुन्जेलसम्म त्यो प्लाज्माको आवरण कायमै रहन्छ । त्यो शिल्ड हटेपछि बल्ल यानसँग पृथ्वीमा सम्पर्क स्थापित हुन्छ ।
वैज्ञानिकका अनुसार अन्तरीक्षयात्राको इतिहासमा वायुमण्डलमा पुनः प्रवेशका बेला त्यहीँ केही मिनेटभित्रैमा दुर्घटनाहरु भएका छन् ।
ब्लाकआउट टाइमका दुर्घटनाहरु
सन् २००३ को फेब्रुअरी १ मा कोलम्बियान अन्तरीक्षयान अन्तरीक्षमा १६ दिन बिताएर पृथ्वीमा फर्किरहेको थियो । पाँचजना पुरुष र २ जना महिला सहित नासाका ७ सदस्यीय अन्तरीक्षयात्रीको टिम त्यसमा यात्रा गरिरहेको थियो ।
सन् २००३ को जनवरी १६ मा उक्त अन्तरीक्षयान पृथ्वीबाट प्रक्षेपण गर्दा नै फोम इन्सुलेसनको एउटा टुक्रा उसको ाहिरी इन्धन ट्यांकबाट छुट्टिएर अन्तरीक्षयानको बायाँ भागमा खसेको थियो । त्यसबाट केही ताप प्रतिरोधी टायलमा क्षति पुगेको थियो ।
विज्ञका अनुसार कोलम्बिया शटल जस्ता पुनः प्रयोग गरिने अन्तरीक्षयानमा टायलको रुपमा ताप प्रतिरोधी प्रणाली थिए । अर्थात् त्यो अन्तरीक्षयानमा विशेष टायल लगाइन्थ्यो ,जसले अत्यधिक गर्मी पनि थेग्न सक्दथे ।
रुसको सोयुज जस्ता पुनः प्रयोग गरिने अन्तरीक्षयानमा पनि पूर्ण ताप प्रतिरोधी प्रणाली रहेको हुन्छ ।
तर प्रक्षेपणका क्रममै कोलम्बिया अन्तरीक्षयानको सोही ताप प्रतिरोधी प्रणालीमा असर पुगेको थियो ।
फेब्रुअरी १ मा जब कोलम्बिया अन्तरीक्षयान पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, त्यसको चारैतर्फ बनेको प्लाज्मा शिल्ड तथा अत्यधिक तापमानले कल्पना चावला सहितका सातजना अन्तरीक्षयात्रीको ज्यान लियो ।
नासाका अनुसार वायुमण्डलको अत्यधिक तातो ग्यास कोलम्बिया अन्तरीक्षयानको बायाँ पखेटाको एउटा छिद्रबाट यानमा प्रवेश गर्यो । जसका कारणले अन्तरीक्षयान अस्थीर भएर टुट्यो ।
नासाको रिपोर्ट अनुसार रेडियो ब्लाकआउटको ४१ सेकेण्डभित्रै कोलम्बिया अन्तरीक्षयान भित्र रहेका अन्तरीक्षयात्रीलाई उक्त यान नियन्त्रण बाहिर गएको आभास भयो । उनीहरुले आपतकालीन उपायहरु अपनाए । तर यानलाई नियन्त्रणमा राख्न असफल भए ।
रेडियो ब्लाकआउट कम गर्ने नासाको प्रयास
एउटा अर्को उदाहरण रुसी सोयूज ११ अन्तरीक्षयानको छ । त्यो यान सन् १९७१ मा तीनजना अन्तरीक्षयात्रीलाई लिएर पृथ्वीमा फर्किरहेको थियो । वायुमण्डलीय पुनः प्रवेशका क्रममा केही मिनेटका लागि पृथ्वीसँग त्यसको सम्पर्क विच्छेद भयो । त्यसपछि त्यसको प्यारासुट खोलियो र यान सफलतापूर्वक पृथ्वीमा अवतरण भयो ।
तर जब उद्दार टोलीले सोयूज अन्तरीक्षयानको ढोका खोले, तब स्तब्ध भए । किनकि यानभित्र रहेका तिनैजना अन्तरीक्षयात्रीको मृत्यु भैसकेको थियो ।
अन्तरीक्षयानको क्याबिनमा वायु चापको कमीका कारण ती रुसी अन्तरीक्षयात्रीको मृत्यु भएको अनुसन्धानले देखायो ।
वास्तवमा रेडियो ब्लाकआउटका कारण उनीहरुले नियन्त्रण केन्द्रबाट कुनैपनि निर्देशन प्राप्त गर्न सकिरहेका थिएनन् जसका कारण यानभित्र प्राविधिक गडबडी उत्पन्न भयो र वायुको चाप तल झर्यो ।
यसैबीच नासाले बलियो तथा आधुनिक तापप्रतिरोधी शिटसँगै प्लाज्मा आवरणको प्रभावलाई कम गर्ने प्रयास गरिरहेको छ ।
वास्तवमा रेडियो ब्लाकआउटको अवधि अन्तरीक्षयानको गतिको आधारमा भिन्न हुनसक्छ । साथै अधिक गतिबाट तापमान पनि अधिक हुनसक्छ ।
यसको अर्थ अधिक गति, अधिक गर्मी अनि अधिक ब्लाकआउट टाइम । त्यसैले अन्तरीक्षयानको ताप प्रतिरोधी कवचलाई सोही अनुसार डिजाइन गर्नु पर्दछ ।
उदाहरणका लागि नासाको ओरियन अन्तरीक्षयानले आफ्ना चालक दललाई वायुमण्डलीय पुनः प्रवेशको तापक्रमबाट बँचाउनका लागि ताप प्रतिरोधी प्रणाली एभकोट टायल्सको प्रयोग गर्दछ ।
ती विशेष टायलले २७६० डिग्री सेल्सियससम्म तापमान सहन सक्दछन् ।
वैज्ञानिकका अनुसार रेडियो ब्लाकआउट अन्तरीक्षयात्रामा सबैभन्दा चुनौतिपूर्ण परिघटना मध्ये एक हो । नासा तथा स्पेस एक्स जस्ता कम्पनीहरुले त्यहीँ केही मिनेटलाई पनि अझै कम गर्ने प्रयास गरिरहेका छन्। तर यसमा खासै प्रगति हुन सकेको छैन ।