काठमाडौं । श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको केन्द्रीय महाधिवेशन भोलिबाट विराटनगरमा सुरु हुँदैछ ।
तीन दिनसम्म हुने केन्द्रीय महाधिवेशनको भोलि (आइतबार) बिहान ११ बजेपछि प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अधिवेशनको लागि संगठनका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू विराटनगर पुगिसकेका छन् । पार्टीका अतिथिहरू र प्रतिनिधिहरू समेत आज बेलुका र भोलि बिहानसम्म विराटनगर पुग्नेछन् । संगठनले पाहुना, केन्द्रीय पदाधिकारी र सदस्यलाई आजबाटै र प्रतिनिधिहरूलाई भोलि र पर्सिको लागि आवासको व्यवस्था गरेको छ ।
‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्नेछ । अधिवेशनले पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने चौतारीका महासचिव हिरामान लामाले जानकारी दिए । महाधिवेशनले चौतारीको नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिए । महाधिवेशनको लागि सबै तयारी पूरा भएको कार्यक्रमको तयारीमा जुटेका संगठनका सचिव विक्रम लुइँटेलले जानकारी दिए ।
‘अतिथि सत्कार, प्रतिनिधिहरूको आवास, कार्यक्रम स्थलको तयारी, खाना लगायतको सबै व्यवस्थापन भइसकेको छ, कार्यक्रममा सहभागी हुने प्रतिनिधिलाई १० गते बिहानदेखिकै खाजा, खाना र आवासको व्यवस्था मिलाइएको छ, प्रतिनिधिलाई चैत १० र ११ गते लागि आवासको व्यवस्था मिलाएको छ’, लुइँटेलले भने ।
प्रेस चौतारी नेपालका विभिन्न पदका लागि अनौपचारिक रूपमा उम्मेदवारी घोषणा भएका छन् । उम्मेदवारी घोषणा भए पनि सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास हुने बताइएको छ ।
संगठनका अध्यक्ष गणेश बस्नेतले महाधिवेशनमा पद खोज्ने तर पार्टी र संगठनको काममा नलाग्नेलाई नेता नबनाइने बताए । ‘भरसक सहमतिको प्रयास हुन्छ, सहमति जुट्न सकेन भने स्वस्थ प्रतिस्पर्धा हुन्छ, तर चुनावमा बदमासी गर्नेहरू उम्मेदवार हुन पाउँदैनन्’, बस्नेतले भने ।