वीरगञ्ज । ठाकुरराम बहुमुखी क्याम्पसमा रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना भोलि बुधवार दिउँसो १ बजेदेखि पुनः सुरु हुने भएको छ । मङ्गलवार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको जिल्ला सुरक्षा समिति र विद्यार्थी सङ्गठनहरूबिचको बैठकमा रोकिएको मतगणना पुन:सूचारु गर्न सहमति भएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालको अध्यक्षतामा भएको बैठकमा स्ववियु निर्वाचनमा सहभागी उम्मेदवार र विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू उपस्थित थिए ।
बैठकले क्याम्पसमा नक्कली प्रमाणपत्र र कागजातहरूको आधारमा भएको कथित फर्जी भर्नाको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजकत्व सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सिडिओ) सुमन कुमार कार्कीले गर्नेछन् भने सदस्यहरूमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साल र विद्यार्थी सङ्गठनबाट तीन प्रतिनिधि रहनेछन् ।
सिडिओ अर्यालका अनुसार, छानबिन समितिले फर्जी भर्नाको विस्तृत अनुसन्धान गरी दोषी देखिएकाहरूमाथि कारबाहीको सिफारिससहित प्रतिवेदन पेस गर्नेछ । “भोलि बिहान क्याम्पस प्रमुख, प्रमुख राजनीतिक दलका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, बार एसोसिएसन र विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूसँग बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरु गर्नेछौँ,” उनले बताए ।
सिडिओ अर्यालले मतगणना सुचारु गर्न विद्यार्थी सङ्गठनहरूसँग सहमति भएको दाबी गरे पनि केही सङ्गठनले असहमति जनाएका छन् । जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका स्ववियु सभापति उम्मेदवार हरि किशोर यादवले फर्जी भर्नाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा रिट निवेदन दायर गरेको बताए । “अदालतको निर्णयपछि मात्र मतगणना हुनुपर्छ भन्ने हाम्रो अडान हो,” उनले भने । यस्तै, समाजवादी विद्यार्थी युनियन नेपालका उम्मेदवार मोहम्मद सागिर अलिले पनि सोही कुरा दोहोर्याए ।
यता, नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष रमेश यादवले भने जिल्ला सुरक्षा समितिसँगको बैठकमा मतगणना पुनः सुरु गर्ने सहमति भएको स्वीकार गरे । “केही साथीहरू असन्तुष्ट छन्, तर छलफल गरेर भोलि १ बजेदेखि मतगणना सुरु हुने सिडिओले आश्वासन दिनुभएको छ,” उनले भने ।
यसैबिच, सोमबार सिडिओ अर्यालले राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा अधिकांशले मतगणना छिटो सुचारु गर्नुपर्ने धारणा राखेका थिए ।
गत मङ्गलवार १६ वर्षपछि सम्पन्न भएको स्ववियु निर्वाचनको मतगणना बुधवार साँझदेखि सुरु भएको थियो । तर, दोस्रो दिन बिहीबार मतपेटिकाको नम्बर र उम्मेदवारका प्रतिनिधिहरूसँग भएको मुचुल्का नम्बर नमिलेपछि विवाद चर्किएको थियो । विद्यार्थीहरूले क्याम्पस प्रशासनले एउटा विशेष समूहलाई जिताउन मतपेटिका साटेको आरोप लगाएका थिए । विवाद बढ्दै जाँदा विद्यार्थीहरूले क्याम्पस प्रमुख रञ्जित प्रसाद यादवको पुत्ला जलाएका थिए भने भोलिपल्ट वीरगञ्जमा वृहत् र्याली निकालेका थिए । नेपाल विद्यार्थी सङ्घलगायत केही सङ्गठनले क्याम्पस प्रशासन र स्थानीय प्रशासनको लापरबाहीका कारण मतगणना रोकिएको भन्दै विरोध प्रदर्शन गरेका थिए ।
ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ यता स्ववियु नेतृत्व रिक्त छ । यस पटकको निर्वाचनले १६ वर्षपछि विद्यार्थी नेतृत्व चयन गर्ने अपेक्षा गरिएको छ । सभापति पदमा १४ जनासहित २१ पदका लागि २४७ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतगणना सुचारु भएसँगै लामो प्रतीक्षा समाप्त हुने आशा गरिएको छ ।
मतगणना रोकिनु पूर्व नेपाल विद्यार्थी समूहबाट स्ववियु सभापतिका उम्मेदवार राजकुमार यादव ४२० मतसहित अग्र स्थानमा थिए भने नेविसंघका आधिकारिक उम्मेदवार विकास मण्डल धानुकले २६१ मतका साथ दोस्रो स्थानमा थिए । त्यस्तै समाजवादी विद्यार्थी युनियनका हरिकिशोर यादव २२१ मतसहित तेस्रो, सुधीर पटेल समूहका कमलेश कुमार यादव २०४ मतसहित चौथो र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का पवन यादव १५० मतसहित पाँचौँ स्थानमा थिए ।