काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले देश र जनताको हितका लागि इमानदारिताका साथ काम गरिरहेको बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री सुजता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुवा’ आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयमा बोल्दै अहिले केही विषय पायो भने विरोध सुरु भइहाल्ने खालको प्रवृत्ति सिर्जना भएको छ।
उक्त कार्यक्रममा बोल्दै उनले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्छु। आइडोलोजी आफ्नो आफ्नो हुन सक्छन्। देश साझा हो। सबैका समान तरिकाका सोच पनि नहुन सक्छन्। तर, यो सबै अटाउने ठाउँ पनि हो। अहिले जति सानो विषय होस् तिललाई पहाड बनाउने काम भएको छ।’
प्रधानमन्त्री ओलीले अगाडि भने, ‘मनपर्ने र नपर्ने पनि अनौठो हुने रहेछ। त्यही मान्छे एकथरी मान्छेले मन परार उधुम, त्यही मान्छेलाई अर्काथरी मान्छेले मन नपरार उधुम। म त भुक्तभोगी छु। मलाई आई लभ यु भन्ने पनि छन्, आई हेट यु भन्ने पनि छन्। यो उनीहरूको राइटको कुरा हो।’
प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा रहेको व्यक्तिलाई सरुवा गरेर अवकाश प्राप्त भइसकेको व्यक्तिलाई नियुक्त गरेको होइन ? भन्दै प्रश्नसमेत गरेका थिए। ओलीले अगाडि भने, ‘कुनै पनि संस्था बलियो हुन सिंगो टिमले काम गर्ने हो। एउटा व्यक्तिले केही गर्न सक्ने हैन। अनि कुलमानलाई प्रचण्डजीले नियुक्त गर्नेबित्तिकै आगो बोकेर आउनुभयो, बिजुली, चिम, ट्रान्समिसन लाइन बोकेर आउनुभयो कि ? वर्षौं लगाएर जे काम गरिएको हुन्छ, त्यसलाई चमत्कारको रूपमा व्याख्या गर्ने ? यो मात्र एउटा भ्रम हो।’
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति इंगित गर्दै एउटा व्यक्तिलाई मानेर, एउटा संस्था र एउटा व्यक्तिका खानदानलाई मानेर हिँड्ने अबको समय छैन। लोकतन्त्र दुनियाँको सबभन्दा राम्रो प्रणाली भएको दाबी गर्दै अझै यसलाई परिष्कृत गर्दै अघि बढाउने बताए।
कांग्रेसको पूर्ण समर्थन छ : देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका तत्कालीन सभापति गरिजिाप्रसाद कोइरालासँग आफ्नो सम्बन्धमा धेरै उतारचढाव आएको सम्बोधनका क्रममा बताए।
देउवाले अगाडि भने, ‘उहाँले मलाई पार्टीबाट निकाल्नुभयो, मैले अर्को पार्टी खोलेँ। त्यसपछि फेरि एक भएर हामी हिँड्यौं।’ ‘पछि उहाँकै भूमिकाका कारण म कांग्रेस सभापति भएँ।’
प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो
पछिल्लो समयमा झनै राम्रो सम्बन्ध भएको भन्दै देउवाले कांग्रेसको तर्फबाट अहिलेको सरकारलाई पूर्ण समर्थन रहने बताए।
देउवाले प्रधानमन्त्री ओलीसँग आफ्नो जेलदेखिकै सम्बन्ध रहेको र पछिल्लो समयमा उक्त सम्बन्ध झनै राम्रो भएको बताए। उनले भने, ‘मसँग मात्र होइन, कांग्रेस पार्टीसँगै ओलीजीको सम्बन्ध सुमधुर छ।’
उनले जेलको प्रसंग झिक्दै भने, ‘जेलभित्र जेल छ। सेन्ट्रल जेलमा गोलघर भन्ने ठाउँ छ। उहाँ त्यस्तो ठाउँमा बस्नु भएको मान्छे हो। राजनीतिक झगडा आफ्नो ठाउँमा छ। तर, उहाँ जेलमेट पनि हो। हाम्रो सम्बन्ध राम्रो हुँदै आयो। अझै यो सम्बन्ध राम्रो भएर जाने कुरामा दुई मत छैन’, देउवाले अगाडि भने।