काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाउँदा केही मान्छे छाती पिटिपिटी रोइरहेका टिप्पणी गरेका छन् ।
आज राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा कर्मचारी हटाउँदा जवाफ दिइरहनु नपर्ने बताएका हुन् । ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्काे नियुक्ति गर्यो, सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जे भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ उनले भने ।
यस्तै प्रधानमन्त्री ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने बताए । युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परि आएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने स्पष्ट पारे ।
उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।’
प्रधानमन्त्री ओलीले थप भने,‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादित रुपमा परिचालन गर्नुस् । पहिलाको युथफोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’