पर्सा । नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंबाट आएको पत्रको अवज्ञा गर्दै पर्सामा कार्यरत रहेका दुई वरिष्ठ सई अड्डा जमाएर बसेका छन् ।
तल्ल देखि माथि सम्म महिनावारी बुझाउन माहिर मानिएका यी दुई वरिष्ठ सईहरु आर्थिक चलखेलमा सरुवा भएको कार्यालय नजाने अडानमा नेपाल प्रहरी प्रधान कार्यालय एवं अनुगमन तथा सुपरिवेक्षण महाशाखा ( उजुरी तथा छानबिन )को पत्र अवज्ञा तथा लत्याउँदै आएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी प्रसौनी भाठ्ठामा कार्यकर्ता वरिष्ठ प्रहरी नायब निरीक्षक बाबुराम ढकाल र वडा प्रहरी कार्यालय विर्तामा कार्यरत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक सुरेन्द्र टैरले आइजिपी दीपक थापा र जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रको आदेश लत्याउँदै आएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले सरुवा गरेको ५ महिना पछिसम्म पनि सरुवा भएको कार्यालय नजाने अडानमा बसेका यी दुई वरिष्ठ सई ढकाल र टैरलाई सरुवा भएको कार्यालयमा २४ घण्टा भित्र पठाउन पत्र पठाएको भएपनि २ दिन भइसक्दा पनि उनीहरूले रवाना भुझेका छैनन।
स्रोतका अनुसार आफूहरुको ठूलो नेता लगायत गृहमन्त्रीसंग राम्रो चिनजान भएको धाक लगाउँदै प्रहरी हेडक्वाटरको पत्रलाई समेत टेरेका छैनन । साथै पर्साको ग्रामीण नाकाबाट निर्यात रुपमा तस्करीमा प्रत्यक्ष रूपमा संलग्न रहेका यी दुई वरिष्ठ सईबाट पर्साबासी समेत लजित भएका छन् ।
साथै जिल्ला प्रहरी कार्यालय पर्सामा हुने छलफलमा समेत बिचौलिया एवं दलाललाई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत केही प्रहरीहरुले सघाउँदै आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साको विभिन्न शाखामा हुने छलफलमा बिचौलिया र दलालसंग समन्वय गरेका सई सुनिल पनेरुले आफै पुगी दलाल र बिचौलियालाई सघाउँदै आएका छन् ।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले सरुवा भएका सबैलाई रवाना गरी पठाउने कार्य चलिरहेको बताए । केही कारणले गर्दा यी दुई सईलाई ढिलो भएपनि भोली सम्म रवाना दिई पठाइने बताए । साथै ठाकुरराम बहुमुखी क्याम्पसको मतगणनामा अलि व्यस्त भएसँगै जिल्ला प्रहरी कार्यालय पर्सा भित्र के के भयो भने अलि ध्यान नपुगेको तर्क दिँदै यदि कुनै प्रहरीले त्यस्तो बदमासी गरे कारवाही गरिने उनले बताए ।