विराटनगर । फेसबुकमा चिनजान भएकी किशोरीलाई विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपसहित एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ ।
विराटनगर महानगरपालिका(१५ घर भई कोशी प्रदेश प्रहरी गणमा कार्यरत साह थरका प्रहरी जवानविरुद्ध ती किशोरीले किटानी जाहेरी दिएकी हुन् । उनले जाहेरीमा आफूलाई बिहेको आश्वासन दिएर गत भदौमा भेट्न बोलाएको र बलात्कार गरेको उल्लेख गरेकी छन् ।
उनीहरूबीच २०८१ साल जेठदेखि फेसबुकमा चिनजान भएको थियो । सामाजिक सञ्जालमा नै साहले ती किशोरीलाई विवाह गर्ने आश्वासन दिएपछि भेटघाट हुने गरेको पीडित युवतीले जाहेरीमा लेखेकी छन् । इलाका प्रहरी कार्यालय बिर्तामोड झापामा दिइएको जाहेरीअनुसार साहले युवतीलाई गत भदौ ७ गते सुरुङ्गामा भेट्न बोलाएका थिए । भेटका क्रममा रात परिसकेको भन्दै होटलमै बस्न भनेको उनको भनाइ छ ।
आफू घर फर्किन खोज्दा ‘तिमीलाई एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै होटलमा राखेको जाहेरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रकाश विष्टले पीडितले किटानी जाहेरी दिएको बताए ।
उनले भने, ‘१९ वर्षिया युवतीले किटानी जाहेरी दिनुभएको छ । यस विषयमा अनुसन्धान सुरू भएको छ । अहिलेसम्म पक्राउ पुर्जी भने जारी भएको छैन । पीडितले भेट्न बोलाएर आफूलाई सुरुङ्गाको होटल क्विन प्यालेस राखेको बताएकी छन् । कोठामा छिरेलगत्तै शाहले जबरजस्ती अँगालो हालेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।’
आत्महत्याको प्रयास
झापाका पत्रकार र अधिकारकर्मी गुहारेकी ती किशोरीले साहले बिहे नगर्ने भनेपछि आफूले धेरै पटक आत्महत्याको प्रयास गरेको समेत बताएकी छन् । उनले केही दिनअघि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई केही दिनसम्म बिहेको आश्वासन दिएको बताइन् ।
कानून व्यवसायी अर्जुन बस्नेतसहितको टीमको सहयोगमा जाहेरी दर्ता भएको छ । अधिकारकर्मी र स्थानीय नेताले दबाब दिएपछि प्रहरीले जाहेरी लिएको हो ।