काठमाडौं । आज राजधानीको तीनकुने क्षेत्रमा राजावादी समूहले गरेको आन्दोलनको क्रममा सञ्चारकर्मीको निधन भएको प्रति प्रेस चौतारी नेपालले भर्त्सना गरेको छ ।
चौतारीका महासचिव हिरामान लामाद्वारा प्रकाशित विज्ञेप्तीमा सञ्चारकर्मी कथित राजावादी समूहको नाममा आज काठमाडौँमा भएको अराजकतापूर्ण र हिंसात्मक प्रदर्शनका क्रममा समाचार सङ्कलनमा रहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्युको भर्त्सना गरेको छ ।
विज्ञेप्तीमा भनिएको छ ‘सञ्चारकर्मीको ज्यान गुमेको र सञ्चारकर्मी, सञ्चारमाध्यममाथि भएको आक्रमणको घटनाले प्रेस चौतारी नेपाल स्तब्ध बनेको छ ।’
काठमाडौँको तीनकुनेमा आज प्रदर्शनकारीले हिंसात्मक ढङ्गले निजी भवनमा आगजनी गर्दा सोही भवनको माथिल्लो तलामा बसेर समाचार छायाङ्कन गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको कार्यस्थलमै जलेर मृत्यु भएको छ ।
यसै गरी, प्रदर्शनकारीले अन्नपूर्ण पोस्ट दैनिकमा आगजनीको प्रयास गर्नुका साथै कान्तिपुर टेलिभिजनमा ढुंगामुढा प्रहार र हिमालय टेलिभिजनको गाडी तोडफोड गरेका छन् ।
शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु नागरिक अधिकार भए पनि आन्दोलनको बहानामा भएका यस्ता अराजक एवं आपत्तिजनक गतिविधिको सिकार सञ्चारकर्मी र सञ्चारमाध्यम हुनु गम्भीर चिन्ताको विषय हो ।
आज काठमाडौँमा सम्पन्न प्रेस चौतारी नेपालको प्रथम केन्द्रीय समिति बैठकले सो अराजक घटनाको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ । यस्ता घटनामा संलग्न दोषीहरूमाथि कडा कारबाही गर्न पनि बैठकले सरकारसँग जोडदार माग गरेको छ ।
जनताको बलिदानी, कष्ट साध्य सङ्घर्ष र त्यागबाट प्राप्त नेपालको लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्दै भइरहेका यस्ता अराजक गतिविधिलाई तत्काल निस्तेज गर्न प्रेस चौतारी नेपाल सरकारसँग जोडदार माग गर्दछ । साथै, ‘संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारको सम्मान गर्दै पत्रकारहरूको सुरक्षाको प्रत्याभूति दिलाउन तथा निर्बाध रूपमा समाचार सङ्कलन, सम्प्रेषण र प्रकाशन÷प्रसारणमा अवरोध सिर्जना नगर्न सम्बन्धित पक्षहरूलाई अपिल पनि गर्दछौँ ।’
