काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा शुक्रबार गरेको तोडफोड, आगजनी लगायतको निरीक्षण गरेका छन् । शनिबार बिहान उनले उक्त क्षेत्रमा पुगेर क्षतिको अनुगमन गरेका हुन् ।
सो क्रममा उनले दोषीमाथि कारबाही हुने बताए । स्रोतका अनुसार यसरी हिंसात्मक प्रदर्शन गरी हत्या, तोडफोड र आगजनीका घटना गराउनेमाथि गम्भीर कारबाहीको तयारी भएको छ ।
राजावादी समूहलाई उत्तेजक बनाउने उक्त आन्दोलनका कमान्डर विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं भने अहिलेसम्म फरार रहेका छन् ।
प्रहरीका अनुसार उनको खोजीका लागि प्रहरीका ३ युनिट खटिएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला पहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालय गरी तीन युनिट प्रसाईंको खोजीमा खटिएका हुन् ।
तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति विभिन्न क्षेत्रबाट चिन्ता व्यक्त गरिएको छ ।
पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ ।
तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ ।
विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।