काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ बोलाएको गणतन्त्र पक्षधर राजनीतिक दलहरूको सर्वदलीय बैठकमा रास्वपालाई निम्ता गरेर पनि सो नगएको पाइएको छ । रास्वपाको लागि बैठक हलमा नेमप्लेटसहितको कुर्सी समेत व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्रीको सचिवालयले आइतबार साँझ मिडियामा पठाएको फोटोमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगत्तैको लहरमा रास्वपा सभापति वा प्रतिनिधि भनेर नेमप्लेट राखिएको छ ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले गणतन्त्र पक्षधर दलहरूको बैठकमा राप्रपाबाहेक सबै दललाई निम्ता गरिएको र सोही बमोजिम बस्नका लागि कुर्सी तथा नेमप्लेटको व्यवस्था समेत गरिएको बताए ।
उनले भने- रास्वपा सभापति वा प्रतिनिधि भनेर एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँगै बस्ने व्यवस्था गरिएको हो । उहाँहरू गणतन्त्र पक्षधर नभएकाले हो कि किन आउनु भएन थाहा छैन । बोलाएकामध्ये नेपाल मजदुर किसान पार्टीको पनि प्रतिनिधि आउनुभएको थिएन । १२ वटा राजनीतिक दलको बैठकमा सहभागिता रहेको थियो ।
हर्क गुरुङ हलमा भएको गणतन्त्र पक्षधर दलको बैठकमा एमाले, कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, जसपा नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति, लोसपा, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, नयाँ शक्ति पार्टी र नेकपा विप्लवको सहभागिता रहेको रिमालले बताए ।
गणतन्त्र पक्षधर दलको बैठकअघि प्रधानमन्त्रीले पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्र मन्त्रीहरूसँग छलफल गरेका थिए । सो छलफलमा राजावादी भनेर चिनिने राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीसमेत सहभागी थिए ।
सो छलफल लगत्तै गणतन्त्र पक्षधर दलको बैठक बसेको थियो । छलफलबाट उठ्ने क्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीसँग ठट्टा गर्दै ‘तपाईँको पनि दल भएको भए बैठकमा बोलाइन्थ्यो’ भन्दै प्रधानमन्त्रीको टिम हर्क गुरुङ हलतर्फ लागेको थियो ।