वीरगञ्ज । राजावादी प्रदर्शनलाई हिंसात्मक बनाए विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँ काठमाडौँ छाडेर भारत पुगेका छन् ।
गत चैत १५ गते शुक्रवार उनले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि प्रहरीले पक्राउ गर्न खोज्दा उनी फरार भएका हुन् । एक उच्च प्रहरी स्रोतका अनुसार प्रसाईँ शुक्रवार राति नै काठमाडौँ छाडेर ललितपुर हुँदै पर्साको ठोरी नाका प्रयोग गरी भारत प्रवेश गरेका छन् ।
प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको थियो । पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको घटनाले प्रदर्शनको हिंसात्मक रूपलाई उजागर गरेको छ । दर्जनौँ सवारीसाधनमा तोडफोड, सार्वजनिक सम्पत्तिमा आगजनी, निजी घरहरूमा क्षति र भाटभटेनी सुपर मार्केटमा लुटपाट भएपछि सरकारले प्रसाईँलाई मुख्य दोषी ठहर गर्दै पक्राउको तयारी गरेको थियो । तर, प्रहरीको निर्देशन शुक्रवार अबेर आएकाले उनी भाग्न सफल भएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार प्रदर्शन हिंसात्मक बने लगत्तै प्रसाईँ ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेका थिए । त्यहाँ फलफूल खाएर बसेका उनले राति नै कान्ति लोकपथको विभिन्न बाटो प्रयोग गर्दै फर्सीडोल हुँदै पर्साको ठोरी नाका पार गरेर भारत पसेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । प्रहरीले उनको भारत प्रवेशको महत्त्वपूर्ण प्रमाण फेला पारेको दाबी गरेको छ ।
प्रहरीले भारतमा रहेको दाबी गरिरहँदा प्रसाईँले भने चैत १७ गते दिउँसो एक भिडियो सन्देश जारी गर्दै आफू काठमाडौँको एक मन्दिरमा सुरक्षित रहेको बताएका छन् । उनको दाबीलाई प्रहरीले भने पत्याएको छैन ।
प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापाले प्रसाईँलाई जसरी पनि पक्राउ गर्न मातहतका अधिकारीहरूलाई कडा निर्देशन दिएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीसँग समन्वय थालेर उनलाई पक्राउ गरी नेपाल ल्याउने तयारी गरेको छ । तर, भारतमा रहेका व्यक्तिलाई पक्राउ गर्न कानुनी र कूटनीतिक जटिलता रहेकाले प्रक्रिया सहज भने छैन ।
प्रसाईँ फरार भए पनि प्रहरीले प्रदर्शनमा संलग्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवलशमशेर जबरालाई चैत १५ राति नै पक्राउ गरेको छ । उनीहरूसहित ११ जनाविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र उपद्रवको मुद्दा चलाइएको छ ।
काठमाडौँ जिल्ला अदालतले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको छ भने अन्य ४१ प्रदर्शनकारीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
राजसंस्था पुनर्स्थापनाको माग राख्दै राजावादी समूहले ‘जनआन्दोलन’ नाम दिएको प्रदर्शनको कमान्डरमा प्रसाईँ र संयोजकमा पूर्व पञ्च ८६ वर्षीय नवराज सुवेदी तोकिएका थिए । तर, प्रदर्शनले हिंसात्मक रूप लिएपछि आन्दोलन कमजोर बनेको छ । प्रदर्शनकारीले सडकमा ठूलो सङ्ख्यामा उपस्थिति जनाए पनि हिंसा र लुटपाटका घटनाले सर्वसाधारणको समर्थन गुमेको विश्लेषण गरिएको छ ।
प्रसाईँको मेडिकल व्यवसाय र उनको राजावादी अभियानले लामो समयदेखि विवाद निम्त्याउँदै आएको छ । उनले आफूलाई व्यवसायीभन्दा पनि सामाजिक अभियन्ताको रूपमा प्रस्तुत गर्दै आएका छन् । तर, हिंसात्मक प्रदर्शन र उनको फरारीले उनको छविमा थप प्रश्न उठेको छ । यता, प्रहरीले उनको खोजी तीव्र बनाएको छ भने सरकारले प्रदर्शनमा भएको क्षतिको मूल्याङ्कन र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।