पर्सा । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सोमबार ज्ञापनपत्र दिएको छ ।
राजावादीको आन्दोलनको क्रममा सञ्चारकर्मीको मृत्यु तथा सञ्चारगृह एवम् सञ्चारकर्मीमाथि भएको आक्रमणको विरोध गर्दै सो ज्ञापनपत्र दिइएको हो।
दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै नेपाल पत्रकार महासंघ पर्साका सचिव विजय चौहानको नेतृत्वमा गएको टोलिले पर्साका प्रमुख जिल्ला अधिकारी अर्याललाई ज्ञापनपत्र दिदै नेपाल सरकारको ध्यानाकर्षण गराएको हो।
ध्यानाकर्षण पत्रमा यही चैत १५ गते काठमाण्डौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगतै छ,भनेर लेखिएको छ।
प्रमुख जिल्ला अधिकारी अर्याललाई बुझाएको ज्ञापन पत्रमा हिंसात्मक आन्दोलनमा संलग्न हत्यारामाथि छानबिन गरी कारबाही गर्न, घाइते पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन, सञ्चार गृहमा भएको क्षतिको उचित क्षतिपूर्ति प्रदान गर्न र दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
साथै, आफ्ना मागहरू पूरा नभएमा पर्साका सम्पूर्ण पत्रकारहरू महासङ्घको अगुवाइमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले काठमाडौँको घटनालाई दुःखद र अस्वीकार्य भन्दै स्थानीय प्रशासन पनि यसबाट स्तब्ध भएको बताए । उनले भने, “तपाईँहरूको माग मैले सम्बन्धित निकायमा पुर्याउनेछु । सरकार र स्थानीय प्रशासन सधैँ पत्रकारहरूको पक्षमा छ ।”
अतः प्रमुख जिल्ला अधिकारी ज्यू मार्फत नेपाल सरकार समक्ष ज्यान गुमाएका पत्रकारको हत्यावारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न माग गरिएको छ।
साथै,विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरूमा संलग्नहरूलाई तत्काल कानूनी कारवाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि महासंघले माग गरेको छ।
ज्ञापन पत्र बुझाउन गएको टोलीमा नेपाल पत्रकार महासंघ पर्सा कोषाध्यक्ष संजीव मिश्र , प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाहन, तुलसी भण्डारीलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।