पर्सा । हिन्दू धर्ममा छठ पूजा विशेष महत्व राख्छ। छठ पर्व वर्षमा दुई पटक मनाइन्छ। कार्तिक महिनामा मनाइने छठ पर्वलाई कार्तिकी छठ भनिन्छ भने चैत्र महिनामा मनाइने छठ पर्वलाई चैती छठ भनिन्छ। यस वर्षको चैती छठ आज मगलबार देखि सुरु भएको छ।
छठ पर्व चार दिनसम्म मनाइन्छ।पहिलो दिन (मंगलवार): नहाय-खाय, दोस्रो दिन (वुधवार): खरना, तेस्रो दिन (बिहिवार ): साँझको अर्घ्य, चौथो दिन (शुक्रवार): उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस महान पर्वको समापन हुन्छ।
चैती छठ पर्वको महत्व
चैती छठ मुख्य रूपमा नेपालको तराई क्षेत्र, भारतको बिहार, झारखण्ड र उत्तर प्रदेश क्षेत्रमा धूमधामका साथ मनाइन्छ। विशेष गरी महिलाहरूले सन्तान प्राप्ति, परिवारको कल्याण, सुख-समृद्धिको कामना गर्दै यो पर्व मनाउँछन्। छठ केवल एउटा पर्व मात्र होइन, चार दिनसम्म मनाइने महापर्व हो।
नहाय-खाय (पहिलो दिन)
यस दिन व्रत गर्ने महिलाहरू नदी वा तलाउमा स्नान गर्छन्। त्यसपछि चामलको भात, चना दाल र लौका अथवा फर्सीको प्रसाद बनाएर ग्रहण गर्छन्। यो भोजनले शरीरमा सकारात्मक ऊर्जा संचार गराउने विश्वास गरिन्छ। यस दिन स्वच्छता विशेष रूपमा महत्त्वपूर्ण मानिन्छ।
खरना (दोस्रो दिन)
खरनाको दिन व्रत बस्ने महिलाहरूले मनको शुद्धता कायम गर्न विशेष ध्यान दिन्छन्। बेलुका पूजा गरी गुड र चामलको खिरको प्रसाद तयार गरिन्छ। व्रतीहरूले सूर्य देवतालाई जल अर्पण गरेर मात्र यो प्रसाद ग्रहण गर्छन्, त्यसपछि परिवारका अन्य सदस्यहरूलाई बाँडिन्छ।
साँझको अर्घ्य (तेस्रो दिन)
तेस्रो दिन व्रतीहरू परिवारका अन्य सदस्यहरू सहित नदी वा तलाउमा गएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिन्छन्। यस दिन ठेकुवा नामक विशेष प्रसाद बनाइन्छ, जुन चामल, दूध र गुडबाट तयार गरिन्छ।
उदाउँदो सूर्यलाई अर्घ्य (चौथो दिन)
चौथो तथा अन्तिम दिन, व्रतीहरूले बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यससँगै चार दिनसम्म मनाइने छठ महापर्व सम्पन्न हुन्छ।