काठमाडौं । अभिनेता राजेश हमाल हत्तपत्त राजनीतिक घटनाक्रममा टिप्पणी गर्दैनन् । आवश्यक परेको बेलामा नबोलेको भन्दै कहिलेकाहिँ उनको आलोचना हुने गर्छ । राजनीतिक कुरामा उनी प्रायः मौन रहन्छन् ।
सोमबार आयोजित आगामी फिल्म ‘नरसिंहा अवतार’को पोस्टर सार्वजनिक समारोहमा उनले वर्तमान राजनीतिबारे टिप्पणी गरे । संचारकर्मीले उनलाई ‘देशमा राजा आउने चर्चा छ नि’ भनेर प्रश्न सोधेका थिए ।
जवाफमा उनले देशमा सही मान्छे आउन जरुरी रहेको बताए । उनले भने, ‘यो आउने, त्यो आउने भन्दा पनि देशमा सही मान्छे आउन जरुरी छ । यो देशले बारम्बार गलत मान्छे पाएको छ । सही मान्छे आउन जरुरी छ । व्यवस्था भन्दा पनि सही मान्छेको जरुरी हो ।’
सवारी साधनमा खराबी हो कि चालकमा भन्दै उनले प्रश्न पनि गरे । ‘सम्पूर्ण जनताले के सोच्नुपर्छ भने, हाम्रो सवारी साधनमा खराबी हो कि चालकमा खराबी हो । यो चाहिँ हामीले मनन गर्नुपर्छ । खराबी हाम्रो सवारीमा हो कि खराबी हाम्रो चालकमा हो ?’ उनले संचारकर्मीसामु भने ।
हमालले नयाँ पुस्ता वा पुरानो पुस्ता भन्दा पनि सही व्यक्ति आउनुपर्ने दोहोर्याए । आफू राजनीतिक मैदानमा अहिले नरहेको बताए । एक नागरिक भएका नाताले देशको विकास र समृद्धी हेर्न चाहेको उनको तर्क छ । नेतृत्वदायी भूमिकामा लामो समयदेखि बसेका व्यक्तिहरूले आफूहरू कहाँ चुक्यौँ भन्ने विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए ।
पछिल्लो संसदीय चुनावमा मतदान गर्ने बेला अनलाइनखबरसँगको कुराकानीमा अबको ५ वर्षमा आफू राजनीतिमा लाग्न सक्ने बताएका थिए । यसपटक भने हमालले आफू राजनीतिको मैदानमा नरहेको बताए । हमालले आठवर्षपछि पुनरागमन गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ ९ जेठमा प्रदर्शन तयारीमा छ ।