बर्दिया । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेताहरूको बैठक बर्दियाको राजापुर सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकले पार्टी एकता गर्ने विषयमा सैद्धान्तिक सहमति टुंग्याएकाे छ ।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउत, नाउपाका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठ उपस्थितिमा बैठक बसेको थियो । संरक्षक चौधरीले दुई पार्टी बिचको एकता अन्तिम चरणमा पुगेको रातोपाटीलाई बताए।
उनले भने, ‘हामीले बैठकमा पार्टी एकताका लागि सैद्धान्तिक रूपमा धेरै विषय टुङ्ग्याएका छौँ, अब छिटौँ एकता हुन्छ।’ अहिले डा.राउत पनि बर्दियाबाट फर्किएका छन् भने चौधरी निवासतिर लागेका छन् । अब केही समयपछि कार्यदल बैठक बस्दैछ ।
विभिन्न चरणको छलफलपश्चात् एकताका लागि आज दुई दलको कार्यदलसहित बसेको शीर्ष नेताको बैठकले पार्टीको नाम र चुनाव चिन्हमा सहमति गरेको जनाइएको छ।
पार्टीको नाम नागरिक जनमत पार्टी र चुनाव चिन्ह ढकिया राख्ने सहमति भएको छ। दुवै दलबाट ५०/५० प्रतिशत केन्द्रीय सदस्य समायोजन गरिने जनाइएकाे छ। चौधरीले कार्यदलको बैठकबाट आएका विषयमा अझै छलफल गर्ने बताए ।
उनले यो विषय वैशाख ५ र ६ गते बस्ने पार्टी केन्द्रीय समिति बैठकले औपचारिक रूपमा टुङ्गाउने जानकारी दिए । वैशाखको दोस्रो हप्ताभित्र दुई पार्टीबिच एकता हुने सम्भावना रहेको समेत उनले बताए ।
कार्यदलले के गर्नेछ ?
कार्यदलमा जनमत पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक, डा.शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेका छन्। नाउपाले गङ्गाराम चौधरीको संयोजकत्वमा सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल बनाएको छ ।
कार्यदलका सदस्य बालगोविन्द चौधरीले मोटामोटी रूपमा टुङ्ग्याएका विषयलाई आज बस्ने कार्यदलको बैठकमा छलफल हुने बताए। उनले दुई दलबिच पार्टी नेतृत्वको विषयमा छलफल भइरहेको र सहमति हुन बाँकी रहेको बताए ।
‘दुवै दलबाट अध्यक्ष राख्ने विषयमा छलफल भएको छ तर अझै टुंगिएको छैन’ उनले भने । संसदीय दलको नेता, प्रदेश, जिल्ला पदाधिकारी बाँडफाट लगायतका विषयमा पनि गहन रूपमा छलफल गर्ने नाउपा केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य राजकुमार चौधरीले रातोपाटीलाई जानकारी दिए ।
उने भने, ‘अध्यक्षहरूले सैद्धान्तिक रूपमा धेरै विषय टुङ्ग्याउनुभएको छ, कार्यदलले बाँकी रहेका विषयहरू टुङ्ग्याउने गरी छलफल गर्नेछ ।’
पार्टी एकताका लागि केही दिन अगाडि केन्द्रीय समितिको बैठकबाट दुवै दलले कार्यदल गठन गरेका थिए। सोही कार्यदलले बनाएको खाका एवम् विधान मस्यौदालाई जनमत पार्टीका अध्यक्ष राउत, नाउपाका संरक्षक चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले छलफल गरेर टुङ्गो लगाउने उनले बताए ।
एकीकरणका लागि यस अगाडि काठमाडौँमा पनि विभिन्न चरणमा छलफल भएको थियो ।