काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई भैरहवा कारागारको ब्लक नं ४, मा एक्लै राखिएको छ । सबै प्रक्रिया पुरा गरेर उनलाई भैरहवा कारागारको ब्लक नम्बर ४ मा एक्लै राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताए ।
उनका अनुसार अहिले रवि लामिछानेको स्वास्थ्य अवस्था पनि ठिक छ ।
उनले भैरहवा कारागारमा कैदिबन्दी राख्नका लागि ४ ओटा ब्लक ब्लक मध्य ४ नम्बर ब्लकमा रविलाई राखेको उनले बताए ।
उनले भने ‘त्यस्तो छुट्टै छैन । हाम्रो ४ ओटा ब्लक छ, ४ ओटा ब्लक मध्य ४ नम्बर ब्लकमा राखेका छौँ ।’
उनले अहिले रविलाई उक्त ब्लकमा एक्लै राखिएको बताए । उनले कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप कैदी पनि राख्न सकिने बताए ।
‘उहाँ बसेको अहिले सिंगल छ । पछि हामी कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप गर्ने पनि हुनसक्छ ।’
उनले हाल भैरहवा कारागारमा ५४९ जना कैदिबन्दी रहेको बताए ।
लामिछानेलाई गत शुक्रवार राति काठमाडौँ स्थित आफ्नो घरबाट पक्राउ गरिएको थियो । त्यसपछि उनलाई चैत २३ गते बिहान ९:१२ बजे यति एअरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल ल्याइयो र यहाँको हिरासतमा राखिएको थियो ।
सरकारी बिदाका कारण उनले दुई दिन हिरासतमा बिताए, र आज उनलाई जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको डिएसपी सुरज कार्कीले जानकारी दिए । अब, अदालतको फैसला नभएसम्म लामिछाने सोही कारागारमा रहनेछन् ।
गत शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको आरोपमा थुनामा पठाउन आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको नेतृत्वमा उक्त आदेश जारी भएको थियो ।
यसअघि, जिल्ला अदालत रुपन्देहीले उनलाई १ करोड धरौटीमा छाड्ने आदेश दिएको थियो, तर उच्च अदालतको आदेशले यो धरौटी आदेशलाई खारेज गरिदिएको थियो ।