सिरहा । विद्युतीय पासोमा परेर सिरहामा १३ वर्षीया बालिकाको मृत्यु भएको खुलेको छ । लामो समय गुपचुप रहेको यो विषय करिब एक महिनापछि बाहिर आएको हो ।
विद्युतीय पासोमा परेर मृत्यु हुनेमा गोलबजार नगरपालिका–९ कि १३ वर्षीया गुलसना खातुन छिन् । २९ फागुनमा उनी बिहान ९ बजेतिर घाँस काट्न भन्दै घरबाट निस्केकी थिइन् ।
तर घरमा नफर्केको भन्दै परिवारले खोजतलासका लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा निवेदन दिएका थिए । खोजतलासकै क्रममा ती बालिकाको शव १२ चैतमा गोलबजार–९ मा रहेको घुर्मी खोलामा भेटिएको थियो ।
प्लास्टिकको बोराभित्र कोचिएको अवस्थामा शव फेला परेपछि हत्याको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मधेश प्रदेश प्रहरीको टोली र स्थानीय सिरहाको टोली अनुसन्धानमा खटिएको थियो । अनुसन्धानका क्रममा आइतबार मात्रै प्रहरीले गोलबजार–९ गोविन्दपुरका २४ वर्षीय जनक भनिने बीरबहादुर सार्कीलाई प्रहरीले पक्राउ गरको छ । उनीविरुद्ध कर्तव्य ज्यानको कसुरमा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद समेत लिएर अनुसन्धान अघि बढाइएको सिरहा प्रहरीका प्रवक्ता वीरेन्द्रकुमार पासवनाले बताए ।
प्रहरीका अनुसार सार्कीले थापेको विद्युतीय पासोमा परेर ती बालिकाको मृत्यु भएको पाइएको छ । सार्कीले जनावरबाट मकै जोगाउन भन्दै बारीमा विद्युतीय पासो थापेका थिए । त्यही पासोमा परेर ती बालिकाको मृत्यु भएको पाइएको पासवानले बताए ।
ती बालिका घाँस काट्दै जाने क्रममा मकैबारीमा थापिएको विद्युतीय पासोमा परेको पाइएको छ ।
आफूले थापेको पासोमा परेर बालिकाको मृत्यु भएपछि उनले बोरामा प्याक गरेर शव फालेको प्रहरीको भनाइ छ ।
